
विश्वकप फुटबलका स्टार खेलाडीहरू मैदानमा जति चर्चित हुन्छन्, उनीहरूका पार्टनर (डब्लूएजीएस—वाइभ्स एन्ड गर्लफ्रेन्ड्स) पनि कम चर्चामा हुँदैनन् । तर, पछिल्लो समय उनीहरू केवल खेलाडीको पार्टनरको रूपमा मात्रै सीमित नरहेर आफ्नै उद्यम, कला र क्षमताका कारण विश्वभर बलियो पहिचान बनाउन सफल भएका छन् । व्यावसायिक रूपमा स्थापित र आफैँमा सफल केही चर्चित फुटबलरका पार्टनरहरूको विवरण यहाँ प्रस्तुत गरिएको छ ।

क्रिस्टियानो रोनाल्डोकी पार्टनर जर्जिनिया रोड्रिगेज आजको समयमा विश्वकै सर्वाधिक प्रभावशाली सेलिब्रेटी र व्यवसायीमध्ये एक हुन् । कुनै समय स्टोर असिसटेन्टका रूपमा काम गरेकी उनी अहिले नेटफ्लिक्सको आफ्नै रियालिटी शो ‘आई एम जर्जिनिया’ चलाउँछिन् भने बहुराष्ट्रिय ब्रान्डहरूको मोडलिङ र फेसन उद्योगमा उनको बलियो पकड छ ।

त्यसैगरी, डिफेन्डर जेरार्ड पिकेसँगको लामो सम्बन्धका कारण चर्चामा रहेकी कोलम्बियन गायिका साकिराको पहिचान कुनै खेलाडीको नाममा निर्भर छैन । उनी तीन पटकको ग्रामी अवार्ड विजेता हुन् भने उनको ‘वाका वाका’ गीत आज पनि विश्वकपको इतिहासमै सबैभन्दा लोकप्रिय मानिन्छ ।
लियोनेल मेस्सीकी बाल्यकालकी साथी तथा श्रीमती एन्टोनेला रोकुजो अर्जेन्टिनाकी सफल व्यवसायी र इन्फ्लुएन्सर हुन् । उनले डेन्टल मेडिसिन र सामाजिक सञ्चारको अध्ययन गरेकी छन् भने हाल बहुराष्ट्रिय फेसन ब्रान्डहरूसँग आबद्ध भएर आफ्नै फुटवेयर ब्रान्ड सञ्चालन गरिरहेकी छन् ।

पूर्व फुटबलर डेभिड बेकह्यामकी श्रीमती भिक्टोरिया बेकह्याम सन् १९९० को दशकको चर्चित सङ्गीत समूह ‘स्पाइस गर्ल्स’ की पूर्व सदस्य हुन् । सङ्गीत यात्रापछि उनले फेसन डिजाइनमा आफ्नो छुट्टै पहिचान बनाइन् र आज उनको नाममा स्थापित महँगो फेसन ब्रान्ड विश्वभर प्रख्यात छ ।एजेन्सी










प्रतिक्रिया