दरबार हत्याकाण्डको थप छानबिन हुने, गृहमन्त्रीद्वारा चार गम्भीर निर्णय सार्वजनिक

गृह मन्त्रालयले देशमा घटेका हरेक अपराध र घटनाका पुराना फाइलहरू खोल्ने तयारी सुरु गरेको छ ।

Advertisement

गृहमन्त्री गुरुङले मन्त्रालयका तर्फबाट चारवटा महत्त्वपूर्ण र गम्भीर निर्णयहरू सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

आज सिंहदरस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा सम्बोधन गर्दै उनले विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने निर्णय सुनाएका छन् । यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी सो घटनाको थप छानबिन प्रक्रिया अगाडि बढाइने उनले बताए ।

Advertisement

मन्त्रालयले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा लगाइएका फौजदारी अभियोजनका मुद्दाहरू फिर्ता गर्ने सम्बन्धमा छानबिन थाल्ने भएको छ । यसका लागि सिफारिससहितको प्रतिवेदन पेस गर्न एउटा विशेष कार्यदल गठन गरिने गृहमन्त्रीले जानकारी दिए ।

यसैगरी गृह मन्त्रालय र सुरक्षा निकायबाट हुने संवेदनशील सूचना चुहावट रोक्न विशेष टोली परिचालन गरिने भएको छ । यस्ता घटना हुन नदिन सुक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सेटिभ इन्फर्मेसन भिजिलियन्स टिम गठन गरिने उनले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउन विशिष्टीकृत समूह गठन गरिने भएको छ । जघन्य, आर्थिक र सङ्गठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा प्रकृतिअनुरूपको समूह बनाइने उनले उल्लेख गरे ।

निर्णय सुनाउनुअघि गृहमन्त्री गुरुङले मिडिया ट्रायलका नाममा नागरिक र विशेषगरी महिलाहरूको चरित्र हत्या गर्ने प्रवृत्तिप्रति कडा चेतावनी दिएका थिए । कसैको अपमान र चरित्र हत्या गर्न खोजिए गृह मन्त्रालय संवेदनशील भएर एक्सनमा उत्रिने भन्दै उनले अब हरेक फाइल खोलिने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री