
चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश पठाएका छन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय प्रतिवेदनअनुसार विप्रेषण आप्रवाहमा ४१ दशमलव २ प्रतिशतको ठूलो वृद्धि देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको वृद्धिदर केवल १३ दशमलव ३ प्रतिशत मात्रै रहेको थियो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै देश भित्रिने विप्रेषणमा पनि उल्लेख्य सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।
वैशाख महिनामा मात्रै साढे २ खर्ब बढी भित्रियो
तथ्यांकअनुसार गत वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जबकी अघिल्लो वर्षको वैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको थियो ।
यस वर्ष अमेरिकी डलरको सन्दर्भमा पनि रेमिट्यान्स आप्रवाहमा ठूलो उछाल आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड पुगेको छ, जुन अघिल्लो वर्ष १० दशमलव ६ प्रतिशतले मात्र बढेको थियो ।








प्रतिक्रिया