नेप्सेमा लगातार गिरावट, कारोबार रकम भने ६ अर्ब माथि

सेयर बजारमा गिरावट आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको हो।

पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको बजारले मंगलबार पनि सोही गति समातेको छ। नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा ओर्लिएको छ।

Advertisement

मंगलबार नेप्से सूचकसँगै अन्य महत्वपूर्ण सूचकहरूमा पनि गिरावट देखिएको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.२९ अंकले ओरालो लागेको छ।

यसैगरी फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले घटेको छ। बजारका अधिकांश सूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ।

Advertisement

सोमबार ४ अर्ब ८ करोड रुपैयाँबराबरको मात्र सेयर कारोबार भएकोमा मंगलबार भने ६ अर्ब नाघेको छ। यस दिन ३५७ कम्पनीको ६३ हजार ७३२ पटकको व्यापारमा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा १ करोड २३ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। सूचक सामान्य घटे पनि कारोबार रकम बढ्नुलाई सकारात्मक रूपमा हेरिएको छ।

सुस्त बजारमा पनि दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो।

यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ११ प्रतिशत र उपकार लघुवित्तको मूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ। सबैभन्दा बढी नोक्सान बेहोर्नेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्, जसको सेयर मूल्य ९.१६ प्रतिशतले घटेको छ।

मंगलबार कारोबार रकमका आधारमा कृषि विकास बैंकको ऋणपत्र अग्रस्थानमा रहन सफल भएको छ। सो बैंकको ८ वर्षे एग्रीकल्चर बण्डको मात्रै ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

त्यस्तै सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँ र १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र खरिदबिक्री भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये केवल ४ उपसमूहको सूचक मात्र हरियो देखिएका छन्। होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंकले बढेका हुन्।

बाँकी ९ वटा उपसमूहको सूचकमा भने गिरावट आएको छ। गिरावट आउनेमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी १.०१ प्रतिशतले ओरालो लागेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री