नियमित कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले तीव्र विरोध गरेपछि आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिएको धारणाप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले सदनमा नाराबाजी र अवरोध गरेका हुन्।

Advertisement

सभामुख डोलप्रसाद अर्यालले पटक–पटक सांसदहरूलाई आसनग्रहण गरी बैठक सञ्चालनमा सहजीकरण गर्न आग्रह गरे। विपक्षी दलहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध जारी राखेपछि बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरियो।

विपक्षीको अवरोधका कारण आजको बैठकमा तय गरिएका थुप्रै महत्त्वपूर्ण कार्यसूचीहरू प्रभावित भएका छन्। सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको जानकारी गराउने कार्यक्रम थियो।

Advertisement

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट तोकिएको अवधिभित्र फिर्ता नआएको जानकारी गराउने सूची पनि रोकिएको छ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत प्रभावित भयो।

संसद अवरोधका कारण आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सुरु हुने भनिएको सामान्य छलफल प्रभावित भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित बजेटमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्रीले जवाफ दिने र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ तथा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम समेत रोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री