
एनएमबि बैंकले नेपाल र भारतबीच तुरुन्तै पैसा पठाउन र पाउन मिल्ने नयाँ क्रस–बर्डर एटुए रेमिट्यान्स सेवा सुरु गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा बैंकले यो सुरक्षित र सहज सुविधा सञ्चालनमा ल्याएको हो ।
यो नयाँ प्रविधिको सुरुवातसँगै ग्राहकले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् । अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्ने छैन, उताबाट पठाउने बित्तिकै बैंकमा रहेको व्यक्तिगत खातामा तुरुन्तै रकम जम्मा हुनेछ ।
पैसा मगाउन वा पठाउनका लागि अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत अन्त्य भएको छ । बैंकले ग्राहकको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल भुक्तानी ठेगाना बनाइदिनेछ र त्यही ठेगानाका आधारमा कारोबार हुनेछ ।
यो सेवालाई सबैको पहुँचमा पुऱ्याउन बैंकले अत्यन्तै सरल डिजिटल प्रक्रिया अपनाएको छ । ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफैं यो सेवा प्रयोग गर्न सक्नेछन् ।
बैंकका जुनसुकै शाखामा गएर कर्मचारीको मद्दतबाट पनि यो सेवा सजिलै सुरु गर्न सकिने सुविधा छ । ग्राहकको मिहिनेतको कमाइ पूर्ण रूपमा सुरक्षित राख्न बैंकको आन्तरिक प्रणालीले यसको निरन्तर निगरानी गर्नेछ ।
विशेष गरी घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकता अनुसार रकम प्राप्त गर्न अब थप सहज हुने देखिन्छ । एनएमबि बैंकले हाल देशभर १ सय ९८ शाखा, १ सय ७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया