
नबिल बैंक र धुलिखेल अस्पतालबीच स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि महत्वपूर्ण सम्झौता भएको छ ।
नेपालभर जलनका बिरामीको उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तार गर्न बैंकले अस्पताललाई ६ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
सोमबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर गरे । यो सम्झौता आगामी तीन वर्षसम्म लागू हुने बैंकले जनाएको छ ।
सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ । अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरूमा पनि यस्ता सुविधाहरू क्रमशः विस्तार गरिने लक्ष्य राखिएको छ ।
यसका साथै दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाई स्थापना गर्न बैंकले सघाउनेछ । देशभरका गरिब तथा सीमान्तकृत समुदायका बिरामीलाई गुणस्तरीय डायलासिस सेवा सुदृढ बनाउन यो सहकार्य प्रभावकारी हुने देखिएको छ ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने उद्देश्यका साथ धुलिखेल अस्पतालसँग सहकार्य गरिएको बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दा जहिले पनि कति जनाको जीवन बदल्न सकियो भन्ने कुरालाई बैंकले मानक मान्ने उनको भनाइ थियो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस साझेदारीलाई दायित्व नभई समाजप्रतिको प्रतिबद्धताको रूपमा लिएको स्पष्ट पारे । धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले बैंकसँगको साझेदारीले जलन र डायलासिस सेवामा थप सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नबिल बैंकले यसअघि सुदूरपश्चिम, कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा जलनका बिरामीका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिसकेको छ । उक्त शिविरबाट ५ सय जना बिरामीले उपचार पाएका थिए भने १ सय ३० जनाको शल्यक्रिया गरिएको थियो ।
बैंकले नवलपरासीको प्रादेशिक अस्पताल र बर्दघाटको चिसापानी अस्पतालमा रहेका कृत्रिम अंग केन्द्रहरूलाई पनि सहयोग गर्दै आएको छ । ती केन्द्रहरूबाट हालसम्म ३ सय भन्दा बढी सर्वसाधारणले निःशुल्क कृत्रिम अंग प्राप्त गरिसकेका छन् ।








प्रतिक्रिया