
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष पद रिक्त हुँदा हकप्रद र आईपीओ अनुमति प्रक्रिया डेढ महिनाभन्दा बढी समयदेखि ठप्प बनेको छ। धितोपत्रको दोस्रो बजार सुस्त रहे पनि साधारण सभाबाट पारित गराएर हकप्रद शेयर निष्काशनको अनुमतिका लागि बोर्ड धाउने कम्पनीहरूको संख्या भने निरन्तर बढिरहेको छ।
बोर्डको अध्यक्ष नहुँदा पनि पिपल्स हाइड्रोपावर कम्पनी र अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि पछिल्लो समय आवेदन दिएका छन्। पिपल्स हाइड्रोपावरले १ बराबर १ को अनुपातमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ५० हजार कित्ताका लागि आवेदन दिएको छ।
यस्तै अरुण काबेली पावरले २ बराबर १ को अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १ सय रुपैयाँ बराबरको १ करोड ९४ करोड ७९ लाख ७ सय ११ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति मागेको छ। बोर्डले गत वर्ष फागुन २५ गते हिमालयन पावर पार्टनरलाई चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद निष्काशनको अनुमति दिएयता कुनै पनि कम्पनीलाई स्वीकृति दिएको छैन।
२५ कम्पनी अनुमतिको पर्खाइमा
चालु आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क अनुसार अहिले २५ वटा कम्पनी कुल २५ अर्ब ४७ करोड ७७ लाख ५ हजार ६२७ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न बोर्डको ढोकामा पुगेका छन्। बोर्डको प्रारम्भिक समीक्षा, सोधपुछ र जवाफ आदानप्रदानको चरणमा रहेका यी कम्पनीमध्ये २३ वटा प्रारम्भिक समीक्षाकै चरणमा अडिएका छन्।
प्रारम्भिक समीक्षाको चरणमा रहेका कम्पनीहरूको मात्रै कुल निष्काशन रकम २३ अर्ब ९१ करोड २३ लाख ७२ हजार ८३ रुपैयाँ रहेको छ। यस चरणमा सबैभन्दा बढी जलविद्युत् क्षेत्रका कम्पनीहरूको वर्चस्व देखिएको छ।
जलविद्युत् क्षेत्रको दबदबा
जलविद्युत् क्षेत्रतर्फ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले २५ करोड रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ र माइखोला हाइड्रोपावरले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको हकप्रद जारी गर्न आवेदन दिएका छन्। सगरमाथा जलविद्युत् कम्पनीले १ अर्ब ७७ करोड ३२ लाख रुपैयाँ, सायापत्री हाइड्रोपावरले २२ करोड २५ लाख ५८ हजार ९८९ रुपैयाँ र राधी विद्युत कम्पनीले १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँको अनुमतिका लागि आवेदन दिएका छन्।
पाँचथर पावर कम्पनीले ९६ करोड २५ लाख रुपैयाँ, दोल्ती पावर कम्पनीले ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ४८ करोड २३ लाख ८४ हजार रुपैयाँको स्वीकृतिको पर्खाइमा आवेदन दिएका छन्। मनकामना इन्जिनियरिङ हाइड्रोपावरले ६१ करोड ७१ लाख २६ हजार ८०० रुपैयाँ, मोदी इनर्जीले २ अर्ब ६१ करोड ८ लाख ५० हजार रुपैयाँ, हिमालयन हाइड्रोपावरले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरले ३ अर्ब २० करोड रुपैयाँ र अरुण काबेली पावर लिमिटेडले १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १०० रुपैयाँ बराबरको हकप्रद निष्काशनको अनुमति माग्दै सूचीमा स्थान बनाएका छन्।
अन्य क्षेत्रका कम्पनीहरू पनि पाइपलाइनमा
उत्पादन तथा प्रशोधन क्षेत्रबाट घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले ३ अर्ब ७६ करोड ७४ लाख ७ हजार ७०३ रुपैयाँ र नेपाल ल्युब आयलले १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँको आवेदन दिएका छन्। इन्भेष्टमेन्ट क्षेत्रबाट सीइडीबी होल्डिङ्स लिमिटेडले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १ अर्ब ७९ करोड ८१ लाख २१ हजार १९९ रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएका छन्।
होटल क्षेत्रबाट ओरिएन्टल होटल्स लिमिटेडले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ र कालिञ्चोक दर्शन लिमिटेडले ६३ करोड रुपैयाँको हकप्रद प्रस्ताव गरेका छन्। अन्य समूह अन्तर्गत मुक्तिनाथ कृषि कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ र नेपाल वेयरहाउजिङ कम्पनीले ६८ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएका छन्।
बीमा कम्पनीहरूको अवस्था
बीमा क्षेत्रतर्फ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएकोमा बोर्डले समीक्षा गरी कमेन्ट पठाइसकेको छ। तर कम्पनीले राइट शेयरको अनुपात संशोधन गरी नयाँ प्रस्ताव कायम गर्ने सम्बन्धमा पत्र दर्ता गराएको छ।
गैर–जीवन बीमा क्षेत्रको प्रभु इन्स्योरेन्स लिमिटेडले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद निष्काशनका लागि बोर्डको प्रश्नको जवाफ पेस गरिसकेको र हाल यो पुनः समीक्षाको चरणमा रहेको छ।
७ कम्पनीले पाएका थिए अन्तिम स्वीकृति
बोर्डमा आवेदन दिएर प्रक्रिया पूरा गरेका ७ वटा कम्पनीहरूले भने चालु आर्थिक वर्षको फागुन २५ गतेसम्ममा हकप्रद शेयर निष्काशनको अन्तिम स्वीकृति पाइसकेका छन्। यी कम्पनीहरूले बजारबाट कुल ४ अर्ब ९४ करोड १७ लाख ७६ हजार २०० रुपैयाँ बराबरको पूँजी हकप्रद जारी गरेर उठाएका छन्।
स्वीकृति पाउनेमा शिवश्री हाइड्रोपावर लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडमार्फत १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ संकलन गर्न स्वीकृति पाएको छ। होटल तथा पर्यटन क्षेत्रको सिटी होटल लिमिटेडले प्रभु क्यापिटल लिमिटेडमार्फत १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ संकलन गर्ने अनुमति पाएको छ।
रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडमार्फत ७० करोड रुपैयाँ संकलन गर्न अनुमति पाएको छ। विकास बैंक समूहबाट नारायणी डेभलपमेन्ट बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ जुटाउन स्वीकृति पाएको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले एनआईसी एसिया क्यापिटल लिमिटेडमार्फत ४० करोड रुपैयाँ संकलन गर्न अनुमति पाएको छ। युनाइटेड अजौड इन्स्योरेन्स लिमिटेडले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत २३ करोड १० लाख रुपैयाँ संकलन गर्ने स्वीकृति पाएको छ।
हिमालयन पावर पार्टनर लिमिटेडले ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको हकप्रद जारी गर्न अन्तिम अनुमति पाएको छ।
लगानीकर्तालाई सचेत रहन बोर्डको आग्रह
धितोपत्र बोर्डले विशेष नोट जारी गर्दै पाइपलाइनमा नाम रहेकै आधारमा सम्बन्धित कम्पनीहरू हकप्रद निष्काशनका लागि योग्य भइसकेको भन्न नमिल्ने स्पष्ट पारेको छ। यो सूची केवल आवेदन प्राप्त भएका कम्पनीहरूको मात्रै विवरण भएको बोर्डले जनाएको छ।
निवेदक कम्पनीहरूले पेस गरेका आवश्यक कागजात, वित्तीय विवरण तथा विवरणपत्रहरू प्रचलित कानूनी व्यवस्था र नियामकीय मापदण्ड बमोजिम पूर्ण र पारदर्शी नभएसम्म अन्तिम स्वीकृति प्रदान नगरिने भएकाले लगानीकर्ताहरूलाई सचेत रहन बोर्डले आग्रह गरेको छ।








प्रतिक्रिया