बिहीबार, १५ चैत २०८०

‘अब हामीलाई पुरुष चाहिँदैन’

समयपोष्ट २०७५ असार १० गते ७:४८

अन्ततः दशकौंपछि आजबाट साउदीमा महिला आफैंले ड्राइभ गर्न पाएका छन् । संसारमा साउदी एकमात्र राष्ट्र थियो जहाँ महिलाले गाडी हाँक्न पाउँदैनथे ।

Advertisement

गत सेप्टेम्बरमा महिला ड्राइभिङमाथि प्रतिबन्ध हटाइने बारे घोषणा गरिएको थियो । साउदी अरेबियाले यो महिनाको सुरुवातमा महिलालाई पहिलो लाइसेन्स प्रदान गरेको थियो ।

यद्यपी, महिलाले ड्राइभिङ गर्न पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका अधिकारकर्मी अझै पनि हिरासतमा राखिएको मानवअधिकार समूह एम्नेस्टीले बताए । पक्राउ पर्नेमा चर्चित लौजेन अल–हाथलाउल पनि छिन् जसले महिलाको ड्राइभिङ अधिकारमाथि लामो समयदेखि वकालत गर्दै आएकी छिन् ।साउदी अरबमा मानव अधिकारवादी संस्थाले निकै लामो संघर्षपछि यसमा विजय हाँसिल गरेका हुन् ।

सन् १९९० मा रियादमा गाडी चलाएको भन्दै दर्जनौं महिलालाई पक्राउ गरिएको थियो । सन् २००८ देखि साउदी महिलाले आफूले गाडी चलाएको फोटो र भिडियो सोसल मिडियामा पोष्ट गर्न थालेका थिए जसले सन् २०११ र २०१४ मा उग्र रुप लियो । महिला ड्राइभिङ प्रतिबन्ध हटेपछि अब हज्जारौं महिलालाई साउदी अरबको बाटोमा गाडी गुडाइरहेको देख्न सकिन्छ ।

‘यो प्रत्येक साउदी महिलाका लागि ऐतिहासिक क्षण हो,’ साउदी टेलिभिजनकी प्रस्तोता सबिका अल–दोसारीले एएफपी समाचार एजेन्सीलाई भनिन् ।आइतबार मध्यराती ड्राइभिङ प्रतिबन्ध फुकुवा भएको केही मिनेटमा नै गाडी चलाएको सबिकाले बताइन् । उनीजस्तै अन्य थुप्रै महिलाले राती नै गाडी चलाएका छन् । ‘मलाई निकै अचम्म लागिरहेको छ र म अत्यधिक खुसी छु ।

अहिले यस्तो गर्न पाउँदा म गौरव महसुस गरिरहेको छु । हामी नयाँ स्वतन्त्रताका लागि तयार छौं,’ २३ वर्षीया मजदुलिन अल–एटिक भन्छिन् । ‘ड्राइभरलाई लामो समयसम्म कुर्नुपर्ने दिन गए अब,’ २१ वर्षे फार्मेसीकी विद्यार्थीले भनिन्, ‘अब हामीलाई पुरुष चाहिँदैन ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री