शुक्रबार, १६ चैत २०८०

देउडामा उदाउँदै ‘लालबहादुर’

समयपोष्ट २०७५ जेठ ३१ गते ११:४१

‘चैत काफल झड्डो, फागुन असिनो पड्डो’
‘यो अछामी बड्डो, आइगयो बड्डीका खोज’
‘खेत कुन्या नाई, धान काट्याका निन हाल्याका खेत कुन्या नाई’
‘देश दुनिया नाई यो जोवन सम्हाली सक्ना, देश दुनिया नाई’

Advertisement

माथि उल्लेखित देउडा गीत गाएर सुदूरपश्चिम र मध्यपश्चिममै चर्चाका पात्र बन्नुभएका देउडा गायक लालबहादुर धामी यतिबेला गीत संगितको संसारमा व्यस्त हुनुहुन्छ ।

कञ्चनपुरका स्थानीय रेडियोमा विभिन्न सांगितिक कार्यक्रम सञ्चालन गर्नुअघि खासै चर्चामा नआउनुभएका देउडा गायक धामी पछिल्लो समय सुदूरपश्चिममा देउडा गायनको क्षेत्रमा उदाउनुभएको छ । उहाँ देउडा गीतको खम्बा बनिसक्नुभएको छ ।

गायक धामी रेडियो कञ्चनपुरमा काम गर्दैगर्दा ‘अछामी बड्डो’ को नामबाट दर्शक÷स्रोता माझ चिनिनुभएको हो । देउडा गायक तथा हास्य कलाकार धामीले रासससँग भन्नुभयो, “विगत दुई वर्षयता एकदमै व्यस्त छु ।”

प्रदेश नं सातमा धेरै प्रतिभा जन्मिए पनि काठमाडौँमा बसेर मात्रै चर्चित भइन्छ भन्ने मान्यतालाई गायक धामीले तोड्नुभएको छ । “मैले सुदूरपश्चिममै बसेर देउडा गीत संस्कृति चिनाउन प्रयास गर्दैआएको छु, देउडालाई युवा पुस्तामाझ बढी प्रख्यात बनाउने काममा लागेको छु,” उहाँले भन्नुभयो ।

प्रदेश नं ७ र कर्णाली प्रदेशमा आयोजना गरिने मेला÷महोत्सव उहाँ छुटाउनु हुन्न । “एक सयभन्दा बढी मेला÷महोत्सवमा आफ्नो प्रस्तुती प्रस्तुत गरिसकेँ,” धामीले भन्नुभयो, “अब चिचिन काठमाडौँ धाउने दिन गए ।”

विसं २०५५ देखि देउडा गायनमा सक्रिय धामीले पहिलो पटक ‘माया जाल लाउ कि त’ नामक एल्बम बजारमा ल्याउनुभएको थियो । सत्र वर्षकै उमेरदेखि पहाडी जिल्ला अछामबाट सांगीतिक यात्रा थाल्नुभएका धामी पछिल्लो समय कञ्चनपुरको भीमदत्तनगरलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको छ ।

स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएका गायक धामीले एकपछि अर्को देउडा गीत बजारमा ल्याउन थालेपछि हरेक मेला÷महोत्सवमा उहाँ सबैका प्रिय गायक बन्नुभएको छ ।

“पाका पुस्ताबाट बढी हौँसला पाउने गरेको छुँ,” उहाँले भन्नुभयो, “अछामी बड्डो भन्दै गर्दा बुढो मान्छे होला भनेर सम्झिन्छन्, प्रत्यक्ष देख्दा छक्क पर्छन ।” छत्तीस वर्षीय धामीले हालसम्म २५० भन्दा बढी देउडा गीत गाउनुभएको छ ।

उहाँको ‘अछामी बड्डो’ बोलको गीत सबैभन्दा बढी लोकप्रिय बनेको छ । पछिल्लो समय देउडामा मौलिकता जीवन्त रहने गरी डिजे ¥यापसमेत उहाँले मिसाउन थाल्नुभएको छ ।

‘ठाडी भाका गाए मैले देउडा गीत गाए, आजभोलिका तन्नेरीलाई डिजे गीत ल्याँया’
‘स्कूल पन पढ्या हजुर, क्याम्पस पढ्या’
‘जागिर सागिर नपाएर म त्यत्तिकै सड्या’

यो गीतले पनि पछिल्लो समय निकै धामीले निकै चर्चा पाउनुभएको छ । देउडा गीत काठमाडौँको ठमेलमा छायांकन भएकाले युवा पुस्ताले निकै मन पराएको धामीको भनाइ छ । धामी मात्रै होइनन्, देउडा गीत गुन्गुनाएर यहाँका युवा पुस्ताका धेरै कलाकार सांगीतिक क्षेत्रमा जम्न थालेका छन् ।

“देउवाले पाका पुस्ता र युवा पुस्तालाई झुमाएकै कारण हाम्रा गीत एकपछि अर्को चर्चित बन्दै गएका हुन्”, धामीले भन्नुभयो, “पुनः विशुद्ध देउडा गीत काठमाडौँमा छायांकन गर्ने तयारीमा छुँ ।”

उहाँ पहिलो पटक गीत रेकर्ड गराउन जाँदा तीन पटकसम्म स्टुडियोबाट बाहिरिनुभयो । “संघर्ष गरिरहे सफल भइँदोरैछ,” धामीले भन्नुभयो, “मलाई सांगीतिक क्षेत्रमा ल्याउन गुरु कोही थिएनन् ।” गीत गाउँदै जाँदा धेरै सहयोगीको साथ पाएको उहाँ बताउनुहुन्छ ।

रेडियो पत्रकारितालाई देउडा गीतसँगै लैजानुभएका धामीले विगतको संघर्षलाई बिर्सनुभएको छैन । “जहाँ पुगे पनि विगत बिर्सनु हँुदैन”, उहाँले भन्नुभयो, “अध्ययनसँगै गायनलाई अघि बढाउँदा मैले भोगेको कष्ट अहिले शब्दमा व्यक्त गर्न सक्दिन ।”

पछिल्लो समय देउडा गीतका लागि विभिन्न स्थलमा छायांकनका लागि बूढाबूढी हाँैसिएर देउडा खेल्न आउने गरेका छन् । पछिल्लो समय प्रदेश नं ७ का विभिन्न जिल्लासँगै भारतको मुम्बई, दिल्ली लगायतका शहरमा समेत उहाँले सांगीतिक प्रस्तुति दिँदै आउनुभएको छ । गायक धामी गीत गएरै आफ्नो खर्च चलेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अहिलेसम्म कलाकारिताबाटै बाँचेको छु ।”

महोत्सवसँगै अन्य कार्यक्रममा समेत गायक धामीको खोजी हुन थालेको छ । “कारागारका कैदीबन्दीसम्मले मलाई फोन गरेर देउडा गाउन र खेल्न आग्रह गर्ने गरेका छन्,” देउडा गायक धामीले भन्नुभयो, “देउडालाई युवा पुस्ताले रुचाउनु मेरा लागि सबैभन्दा सुखद कुरा हो ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री