बिहीबार, १५ चैत २०८०

कुलेखानीेको जनेरेटरमा समस्या आएपछि………

समयपोष्ट २०७५ जेठ २५ गते ९:३०

रमेश लम्साल
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ ।

Advertisement

‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती दुई आयोजनाले ९२ मेगावाट विद्युत् उत्पादन गर्छ ।

सो आयोजनाको युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।

कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत् गृह सञ्चालन हुन्छ ।

कुलेखानीलाई अन्य विद्युत् केन्द्रजस्तो २४सै घण्टा चलाइँदैन । विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ ।

कुलेखानी पहिलोमा ३०÷३० मेगावाटका दुईवटा र दोस्रोमा १६÷१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत् गृहका एउटा–एउटामात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।

बर्खा लागेसँगै खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत बढी विद्युत् माग हुने समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई विद्युत्भार कटौती गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो कुलेखानी विद्युत् केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिनुभएको छ ।

केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता जापानको फुजी इलेक्ट्रिक कम्पनीका प्राविधिक आगामी सोमबार यहाँ आइपुग्ने जानकारी दिनुभयो ।

जापानी प्राविधिक आएपछिमात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने प्रमुख ओझाले बताउनुभयो ।

“हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ”, उहाँले भन्नुभयो, ‘मर्मत छिटो सक्ने प्रयास गरिरहेका छौँ ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री