शुक्रबार, १६ चैत २०८०

चितामा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद

पत्रपत्रिका २०८० जेठ २८ गते ६:३३

Advertisement

सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।

वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उनलाई फेरि उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो ।

जनकपुरमा उपचार गरिरहँदा स्वास्थ्य अवस्था जटिल बनेको भन्दै शनिबार बिहान घरतर्फ ल्याउनेक्रममा महिलाको बाटोमा मृत्यु भएको स्थानीयले बताए । मृतकको शव शनिबार मध्यान्ह गाउँमा ल्याएर लखन्देही खोलामा अन्त्येष्टि गरिरहेका बेला प्रहरीले महिलाको शव बरामद गरेको स्थानीयले बताएका छन् ।

महिलाको शव मृतककी छोरी, ज्वाँइलगायत केही आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शव बरामद गरेको बुझिएको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विजय कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले महिलाको शव आज बरामद गरेको हो ।बलिराखेको चिताबाट आधा शरीर जलिसकेको अवस्थामा महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ । कुटपिट घटनामा संलग्न महिलाका श्रीमानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री