बिहीबार, १३ वैशाख २०८१

विश्वसनीय धितोपत्र बजार/वस्तु विनिमय बजारको विकास तथा विस्तार वोर्डको प्राथमिकता : अध्यक्ष हमाल

समयपोष्ट २०८० जेठ २५ गते १०:३०

Advertisement

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले विश्वसनीय धितोपत्र बजार/वस्तु विनिमय बजारको विकास तथा विस्तार वोर्डको प्राथमिकता रहेको बताएका छन् ।

बोर्डको ३१ औ वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष हमालले सार्वजनिक गरेको प्रतिवद्धतामा भनिएको छ, ‘समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार कार्य बोर्डको भावी प्राथमिकता रहेको छ ।’

बजारको नियमन, विकास तथा सुधारका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियमन निकायहरू, अन्तर्राष्ट्रिय संस्था तथा बजार सम्बद्ध पक्षहरूबाट निरन्तर सहयोगको अपेक्षा राखिएको उल्लेख गर्दै धितोपत्र बजार र वस्तु विनिमय बजारको प्रभावकारी नियमन र विकास गर्दै नेपाल सरकारले आवधिक योजना, रणनीति तथा वार्षिक नीति तथा कार्यक्रममा तय गरेका लक्ष्य निर्धारित समय सीमामा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

अध्यक्ष हमालद्धारा जारी प्रतिबद्धतामा बोर्डबाट वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षण व्यवस्था गरिएकोमा यसका बहुआयामिक तथा सकारात्मक प्रभावहरू देखिन थालेको उल्लेख गरिएको छ ।

पुँजी बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाइ धितोपत्र बजार, वस्तु विनिमय बजार तथा धितोपत्र व्यवसायीलाई अनुमति पत्र प्रदान गर्ने प्रक्रिया अघि बढेको समेत जानकारी दिइएको छ ।

प्रतिवद्धतामा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिने प्रकृयामा संख्या तोक्ने पद्धति हटाई पहिलोपटक तोकिएको मापदण्ड पुरा गरेको संस्थाहरूलाई निश्चित समयावधि भित्र खुला प्रणाली (Open System) मार्फत कार्यका आधारमा वर्गीकरण गरी अनुमतिपत्र प्रदान गरिएको जनाइएको छ ।

हेर्नुहोस् अध्यक्ष हमालको प्रतिवद्दता जस्ताको तस्तै
धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन निकायको रूपमा रहेको नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाकालको ३१ औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा बोर्डलाई आजको यस स्थानमा ल्याउन महत्वपूर्ण योगदान गर्नुहुने नेपाल सरकार अर्थ मन्त्रालयका वर्तमान तथा पूर्व माननीय मन्त्रीज्यूहरू, सचिवज्यूहरू, बोर्डका पूर्व अध्यक्षज्यूहरू, संचालक बोर्डका वर्तमान तथा पूर्व सदस्यज्यूहरू, कर्मचारी साथीहरू, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी, सञ्चारकर्मी, लगानीकर्ता र सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

समीक्षा वर्षमा बोर्डबाट वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षण व्यवस्था गरिएकोमा यसका बहुआयामिक तथा सकारात्मक प्रभावहरू देखिन थालेका छन्। पुँजी बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाइ धितोपत्र बजार, वस्तु विनिमय बजार तथा धितोपत्र व्यवसायीलाई अनुमति पत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढेका छन् । धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिने प्रकृयामा संख्या तोक्ने पद्धति हटाई पहिलोपटक तोकिएको मापदण्ड पुरा गरेको संस्थाहरूलाई निश्चित समयावधि भित्र खुला प्रणाली (Open System) मार्फत कार्यका आधारमा वर्गीकरण गरी अनुमतिपत्र प्रदान गरिएको छ । यसबाट बजार थप स्वच्छ, पारदर्शी, प्रतिष्पर्धी र गुणस्तरीय बनी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि हुनुका साथै नेपालको धितोपत्र बजारमा नयाँ आयाम थपिने विश्वास लिएको छु । यस्तै, नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवर्द्धन गर्ने हेतुले अनुमति प्रकृयालाई छिटो छरितो बनाई विशिष्टकृत लगानी कोषलाई अनुमतिपत्र प्रदान गरिएको छ । बोर्डले Private Equity Venture Capital (PEVC) को Ecosystem निर्माणका लागि SME Platform को विशेष कानूनी व्यवस्थाको तयारी गरी मन्त्रीपरिषदमा स्वीकृतिका लागि पेश गरिएको छ। यसरी Ecosystem निर्माण गरी Signature Policy मार्फत देशको अर्थतन्त्रमा उद्यमशिलता प्रबर्द्धन तथा Enterprise Development को एक नयाँ परम्परा शुरु हुने क्रममा रहेको छ ।

त्यसैगरी, मर्जर तथा एक्विजिशन सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरिएको भने धितोपत्रको सार्वजनिक निष्काशनको आस्वा प्रणालीमा लाग्ने सेवा शुल्कलाई समायोजन गरी बजारलाई लगानीकर्तामैत्री बनाइएको छ। धितोपत्र दलाल तथा व्यपारीले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न कानुनी व्यवस्था समेत गरिएको छ । वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी गतिविधिलाई सघनताकासाथ सञ्चालन गर्न र धितोपत्र व्यवसायीमा व्यवसायिकता अभिवृद्धि, तालिम र प्रमाणिकरणसम्बन्धी कार्यक्रम सञ्चालनका लागि बोर्डमा नयाँ संगठनात्मक संरचना लागू गरिएको छ । धितोपत्र बजार लाई स्वच्छ तथा पारदर्शी बनाउने क्रममा धितोपत्र सम्बन्धी कसूर उपर अनुसन्धान कार्यलाई तिव्रता दिइएको छ । बोर्डबाट क्यानडाको Toronto Centre सम्झौता गरी कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको छ।यस्तै, वित्तीय साक्षरता अभिवृद्धिका लागि OECD को आव्हानमा बोर्डले राष्ट्रिय स्तरमा Global Money Week को सञ्चालन गर्नुका साथै पाक्षिक रेडियो कार्यक्रम निरन्तर सञ्चालन गरिएको छ । देशमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै लगानीकर्ताको हकहित संरक्षण तथा बजार सहभागीहरूको तालिम तथा प्रमाणिकरणका लागि Capital Market Institute स्थापना गर्न बोर्डले अध्ययन गरिरहेको छ । साथै, ऋणपत्र बजारको सन्तुलित एवं उचित विकास तथा संचालन व्यवस्थाका लागि International Finance Cooperation तथा World Bank सँगको आपसी समन्वय तथा सहकार्यमा द्रुतरूपमा कार्य अगाडि बढाईएको छ । बोर्डबट गरिएका विकास तथा सुधारसँगै लगानीकर्ताको मनोबल बढनुका साथै लगानीकर्ताको हित संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
बोर्डको समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता क्रमशः जनशक्ति सबलीकरण, नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगलाई जोड दिने नीति रहेको छ । बुक बिल्डिंग प्रणाली, ऋणपत्र बजार र धितोपत्र प्रत्याभूतिसम्बन्धी कार्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यदिशामा बोर्ड अगाडि बढेको छ । समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार कार्य बोर्डको भावी प्राथमिकता रहेको छ ।

अन्त्यमा, धितोपत्र बजार र वस्तु विनिमय बजारको प्रभावकारी नियमन र विकास गर्दै नेपाल सरकारले आवधिक योजना, रणनीति तथा वार्षिक नीति तथा कार्यक्रममा तय गरेका लक्ष्य निर्धारित समय सीमामा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै बजारको नियमन, विकास तथा सुधारका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियमन निकायहरू, अन्तर्राष्ट्रिय संस्था तथा बजार सम्बद्ध पक्षहरू सबैबाट निरन्तर सहयोगको अपेक्षा गर्दछु ।

रमेश कुमार हमाल
अध्यक्ष
२०८० जेठ २५

प्रतिक्रिया

सम्बन्धित सामाग्री