शुक्रबार, १४ वैशाख २०८१

हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’

पत्रपत्रिका २०८० जेठ २० गते ६:४३

Advertisement

घटना १
सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’

लेक गएको केही दिन नबित्दै वर्षासँगै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् । तीन महिना खान लिएर गएको अन्न लेकमै छोडेर झल्लादेवी दुई बच्चासहित घर हिँडिन् ।

त्यस क्रममा १६ वैशाखमा हिमपहिरोमा परेर बेपत्ता भइन् । तीन दिनपछि उनको लास भेटियो । उनका सपना हिउँसँग लेकमै विलय भए । झल्लादेवीका श्रीमान् भारतमा रोजगारी गर्न गएका छन् । ५ र ६ वर्षका छोराछोरी विचल्लीमा परेका छन् ।

घटना २
सुर्मा गाउँपालिका–५ का ४२ वर्षीय कलक बोहराका दुई छोरा एक छोरी छन् । घरमा वृद्धावस्थाका बुबाआमा मात्रै छन् । १२ र १३ वर्षका छोराछोरीनजिकैको सामुदायिक विद्यालयमा अध्यनरत छन् । आम्दानीको स्रोत केही छैन ।

वर्षमा एकपटक यार्सा संकलन गरेर वर्षभर एकछाक खाना जोहो गर्नुका साथै कलकले छोराछोरीको पढाइ र घरायसी खर्च जोहो गर्दै आएका थिए । विगतजस्तै यस वर्ष पनि उनले वर्षभर एकछाक खानका लागि लिएको अन्नको पैसा तिर्ने, बाँकी अन्न बचाउने, छोराछोरीको पढाइ खर्चलगायत जोहो गर्ने सपना देखेर कलक वैशाख पहिलो साता लेकतर्फ लागे । उनीसँगै छोराछोरी, श्रीमती पनि लेक हिँडे ।

सबै परिवार मिलेर संकलन गरेको यार्सा बिक्री गरेर ‘नयाँ लुगा कपडा खरिद गर्नुका साथै मिठो खाने’ सपना थियो उनीहरूको । तर, यी सपना सपनामै सीमित रहे । ती सपनासँगै आफन्तसमेत लेकमै विलय भए । हिमपात भएपछि घर फर्कने क्रममा बाटैमा चिसोले कठ्यांग्रिएर तितापानीमा वैशाख दोस्रो साता मृत्यु भयो ।

घटना ३
चिसोले नै कठ्यांग्रिएर वडा ४ का २४ वर्षीय पर्म बोहराको समेत निधन भयो । उनको घरमा पनि उस्तै बिचल्ली छ । एक छोरा, एक छोरी, श्रीमती बुबाआमा घरमा छन् । परिवारको सबै जिम्मेवारी उनकै काँधमा थियो ।

खेतबारीको काम गरेर तीन महिनासमेत खान नपुग्ने भएका कारण तीन महिला घरमा ताला लगाएर गाउँ नै खाली गरेर यार्सा संकलन गर्न लेक जाने गरिन्छ । घरबाट यार्सा संकलन गर्न लेक जानेबेला उनीहरूका घरमा रुवाबासीसमेत हुनेगर्छ । ‘लेकबाट फर्कने कि उतै विलय हुने ?’ ज्यानको टुंगो हुँदैन । यार्सा संकलन गर्न लेक जानु ‘जीवनको अन्तिम दिन’सरह हुन्छ ।

१ वडाध्यक्ष दिनेशबहादुर बोहरा ‘सुर्मादेवी माताको हातमा ज्यान सुम्पेर यार्सा संकलन गर्नुपर्ने’ बाध्यता रहेको बताउँछन् । वर्षको तीन महिना वैशाखदेखि असार अन्तिमसम्म यार्सा संकलन गर्ने समय हो । तर, वार्षिक चार÷पाँच जना कोही हिमपहिरोमा परेर, कोही लडेर, कोहीको लेकमै बिरामी परेर बाटोमै मृत्यु हुने गरेको छ । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री