मंगलबार, ४ वैशाख २०८१

बाँकेमा सिकलसेल एनिमिया बिरामी वृद्धि

समयपोष्ट २०७९ असार १३ गते ९:१७

Advertisement

थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप पाँच सिकलसेलका बिरामीसहित सो पालिकामा बिरामीको सङ्ख्या २३ पुगेको छ । सबै पालिकामा भएका विभिन्न परीक्षणबाट खास सङ्ख्या नआएकाले जिल्लामा अझै कति बिरामी छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिनुभयो ।

उहाँले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचारले केही राहत भए पनि थालसेमियाका बिरामीले सो राहत नपाएको बताउनुभयो । यसका बिरामी पनि कति छन् भन्ने खुल्न सकेको छैन । सो पालिकामा थारु समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी, बिरामी र बाहकमा जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ कार्य जारी रहेको उहाँले जानकारीदिनुभयो ।

कतिपय बिरामी त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आशमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ रकम खर्च भएको र त्यस्ता शारीरिक समस्याको निको पनि नभएको बताउँछन् । सिकलसेल एनिमियाका बिरामी केही त्यस्ता छन् जसलाई सरकारले रु एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारुले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्तालमा मोटो रकम खर्च भएको बताउनुभयो । उहाँले ऋण खोजेर जम्मा गरेको रु ७० हजार खर्च भएको जानकारी दिँदै आफूलाई सिकसेल एनिमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउनुहुन्छ । सिकलसेलविज्ञ डा राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनिमियाको दिगो समाधान भएको बताउनुभयो ।

उहाँले विवाह कुण्डली मिलाएर सिकलसेल एनिमियाको न्यनीकरण गर्न सकिने उल्लेख गर्दै सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताउनुभयो । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । “अहिलेको पुस्तामा रोग देखिएको छैन । तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारु समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको बताइएको छ । थारु बाहुल्य बाँके र बर्दियामा मात्रै पहिचान भएको करिब चार हजार सिकलसेलका बिरामी छन् ।

डा पाण्डेले दुर्गम स्थानमा रहेका बिरामीलाई स्थानीयस्तरमा नै सिकलसेलको औषधि उपलब्ध गराइने उल्लेख गर्दै नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । “गम्भीर समस्या भएमात्रै भेरी अस्पताल आउनुहोला नभए स्थानीयरुपमा नै औषधिको व्यवस्थापन गरिने छ”, उहाँले भन्नुभयो । जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाहेक कोहलपुर नगरपालिकामा यसको समस्या देखिएको र सम्भावित सबै पालिकबाट तथ्याङ्क आएपछि जिल्लामा सिकलसेलका बिरामी निश्चित हुने बताइएको छ ।

स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रिनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए । तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री