शनिबार, ८ वैशाख २०८१

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडाध्यक्षले बनाईदिए चर्च

समयपोष्ट २०७८ असार १६ गते १३:१३

Advertisement

क्रिस्चियन धर्मावलम्बीहरुका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रुकुम पश्चिममा चर्च निर्माण गरिएको छ ।

आठबीसकोट नगरपालिका वडा नम्बर १० ले चर्च निर्माण गरेको हो।

यस्तै सोही नगरपालिकाको ३ वडा कार्यालयले स्यालाखदीमा चर्च निर्माण गर्न लागेको छ ।

चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख रूपैयाँले चर्च निर्माण गर्न लागिएको वडाध्यक्ष केशरबहादुर विकले जनाए। चर्च गत वर्षदेखि निर्माण गर्न थालिएको हो।

उक्त चर्चको भवनलाई वडाले क्रमागत रुपमा अघि सारेको छ। गत वर्ष वडाको पाँच लाख रूपैयाँ विनियोजन भएको थियो। ‘गत वर्षको रकमले काम सम्पन्न हुन सकेन,’ वडाध्यक्ष विकले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख हाल्दा पनि रकम अपुग हुन्छ।’ अब मुख्यमन्त्री रोजगारबाट आउने २० लाख रूपैयाँ चर्चको भवन निर्माणमा खर्च गरिने उनको भनाइ छ ।

१४ मिटर लम्बाइ र सात मिटर चौडाइ भएको उक्त भवन भुइ तलामात्र निर्माण हुने छ। यस वडाको कूल जनसंख्या दुई हजार ६८ छ। यसमध्ये करिब ३० देखि ३५ प्रतिशत जति क्रिस्चियन धर्म मान्ने समुदाय भएको वडाध्यक्ष विकको भनाइ छ। ‘वडामा क्रिस्चियन समुदायका व्यक्तिहरु पनि बस्नुहुन्छ,’ उनी भन्छन्, ‘उहाँको माग आएपछि वडाले भवन निर्माण गर्दैछ।’ यस वडामा दलित समुदायका व्यक्ति अझ बढी क्रिस्चियन धर्ममा आबद्ध हुँदै गएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री