शुक्रबार, ७ वैशाख २०८१

सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सामग्री बाढीले बगायो, सुरुङभित्रका कामदारको सहकुशल उद्धार

समयपोष्ट २०७८ असार १ गते १६:१२

Advertisement

पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ । केही दिनबाट निरन्तर परेको पानीले आज बिहान दोर्दी खोलामा बाढी आउँदा यस आयोजनाको बाँधस्थल भरिएर आयोजनाको सुरुङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो ।

आयोजनाको मुख्य सुरुङमा बाढी पस्न थालेसँगै सुरुङभित्र काम गर्दै गरेका ५०/६० जना कामदारको सहकुशल उद्धार गर्न सफल भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलका अनुसार आयोजनाको विभिन्न भागमा दोर्दी खोलामा आएको बाढी छिरेको छ । हालसम्म आयोजनामा रहेको एउटा ट्याक्टर, पम मेशिनलगायतका सामग्री सो बाढीले बगाएको उहाँको भनाइ छ ।

हामी यतिबेला आयोजनाको अन्य संरचना तथा सामग्री एवं यहाँका कर्मचारीहरु जोगाउन तयारीमा लागेकाले अरु के कति सामग्रीमा क्षति पुगेको छ भन्ने विस्तृत विवरण आउन बाँकी रहेको आयोजनाका साइट इन्चार्ज सिग्देलले बताउनुभयो । यतिबेला दोर्दी खोलामा यसअघि २०७६ साउन ८ गते क्षति बनाउने गरेर आएको बाढीभन्दा ठूलो आएको छ । त्यति बेला समेत यस आयोजनामा करीब रु १० करोडको क्षति भएको बताइएको छ ।

त्यस्तै, खोलामा बाढी ठूलो आउने क्रम जारी रहेको र सो बाढीले बाँघ स्थलमा रहेको सिमेन्ट बालुवा खोल्ने ब्याटिङ प्लान्ट बगाउन लागेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताउनुभयो । खोलामा असामान्य बाढी आएकाले अझै आयोजनामा क्षति हुन सक्ने उहाँको भनाइ छ । यस आयोजनामा बाढी पसेसँगै सबै निर्माणका कार्य रोकिएको आयोजनाले जनाएको छ ।

कूल रु आठ अर्ब ८० करोड रुपैयाँको लगानी रहेको यस आयाजना अन्तिम चरणमा पुगेको छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी हुँदै पटकपटक म्याद थप गर्दै अघि बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री