शनिबार, ८ वैशाख २०८१

झ्याप्रेखोला सिँचाइ आयोजनाको नहर निर्माण

समयपोष्ट २०७८ जेठ २४ गते ११:४१

Advertisement

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण शुरु भएको थियो । झ्याप्रेखोला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नन्दलाल कडेलले दुई वर्षको अवधिमा ७१० मिटर पक्की नहर निर्माण सकिएको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७७/७८ मा कार्यालयको रु १४ लाख ४५ हजार अनुदान र उपभोक्ताको रु एक लाख ५३ हजार श्रमदानबाट २७० मिटर नहर निर्माण भएको छ । यसैगरी मुहान संरक्षणका लागि १५ थान ग्यावियन पर्खाल निर्माण भएको छ ।

“गत पुस महिनामा सम्झौता गरेर असारमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ”, अध्यक्ष कडेलले भन्नुभयो, “हामीले वैशाखमै निर्माण सकेर अन्तिम किस्ताको भुक्तानीसमेत लिइसक्यौँ ।” स्थानीय मजदुर परिचालन गरेर नहर निर्माण भएको थियो ।

गत आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयको रु २८ लाख अनुदान र उपभोक्ताको रु तीन लाख बराबरको श्रमदानमा ४८० मिटर नहर, मुहान र १० थान ग्यावियन पर्खाल निर्माण भएको थियो । अहिलेसम्म निर्माण भएको नहरबाट मौरेनीसम्म सिँचाइका लागि पानी चलाइएको छ ।

झ्याप्रे खोलामा मुहान भएको यो आयोजनाबाट १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुग्ने खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका इञ्जीनियर बालकृष्ण बुढाथोकीले बताउनुभयो । कुल दुई हजार ५०० मिटर नहर निर्माण भएपछि आयोजनाले पूर्णता पाउनेछ ।

आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको कार्यालय र उपभोक्ता समितिले जनाएका छन् । सिँचाइ सुविधा भएपछि खाद्यबालीका साथै सुन्तला, किबीलगायत फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयवासी मदन सापकोटाले बताउनुभयो ।

नहरबाट पानी चलाइएको ठाउँमा यसपालि मध्य जेठमै धान रोपाइँ सकिएको छ । यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री