मंगलबार, ६ चैत २०८०

जाजरकोटमा ७० प्रतिशत योजना सम्पन्न

rss २०७७ असार १० गते १४:३३

Advertisement

हेमन्त केसी

कर्णाली प्रदेश सरकारले समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माणकार्य जारी राखेको छ । जाजरकोटमा रु दुई करोड ७० लाखमा ११ कृषि सडक निर्माण भइरहेको र रु चार करोड २५ लाखमा २२ वटा सिँचाइ योजना सञ्चालनमा रहेको कृषि सेवा कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

यीमध्ये ७० प्रतिशत योजना सम्पन्न भइसकेका छन् । बाँकी ३० प्रतिशत योजना निर्माणको अन्तिम चरणको पुगेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कृषिजन्य वस्तु उत्पादनका लागि पकेट क्षेत्र भएका ठाउँमा सडक र सिँचाइ सुविधा उपलब्ध गराइएको कार्यालयले जनाएको छ । नलगाड नगरपालिका–७ खगेनमा खेतीयोग्य जमीन धेरै भए पनि सिँचाइ नहुँदा समस्यामा परेका कृषकलाई मध्यनजर गरी यसपटक रु २० लाखको योजना सञ्चालन निर्माणकार्य पूरा भएको छ । योजना सम्पन्न भएसँगै यहाँका ५० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । कृषकलाई बीउ, सिँचाइका लागि पाइप ९सहायक लाइन०, प्लाष्टिक टनेल, विषादी प्रयोग गर्ने भाँडासमेत वितरण गरिएको छ ।

घर नजिकैबाट पानी बगे पनि अर्थाभावका कारण सिँचाइ गर्न नपाएर हैरान भएका जुनिचाँदे गाउँपालिका–१ सानीआग्रीका ३० घरधुरी यसपटकदेखि १२ महिना सिँचाइ सुविधा उपभोग गर्न पाउने भएका छन् । अधिकांश दलित समुदाय भएको यहाँ वर्षेबाली आकाशे पानीको भरमा लगाउने भए पनि हिउँदयाममा भने खेतबारी बाँझै रहने गरेका थिए । यो वर्ष सिँचाइ सुविधा पुगेसँगै अब यहाँका जमीन बाँझो नरहने स्थानीयवासी लोकबहादुर बुढाले बताउनुभयो । उहाँले पाँच वर्ष अघिदेखि योजना माग गरे पनि बल्ल पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

बाँच्ने आधार तय हुने जमीनमा सिँचाइ सुविधा पुगेर अब बाह्रै महिना खेती गरी हराभरा बनाउने ढोका खुलेको भन्दै सानीआग्री सिँचाइ योजनाका अध्यक्ष अम्बरबहादुर बुढाले गाउँवासीमा धेरै खुशी थपिएको सुनाउनुभयो । त्यस्तै ६० घरघुरीभन्दा बढी सर्वसाधारण बसोबास गर्ने छेडागाड नगरपालिका–११ झार्पामा पनि सिँचाइ सुविधासम्पन्न भएको छ । यहाँ रु ५० लाखमा छट्केखोला सिँचाइ योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिनुभयो । झार्पाका गाउँगाउँमा पानीको नहर पुगेसँगै कृषिजन्य वस्तु उत्पादन गर्न सजिलो भएको अध्यक्ष शाहीले खुशी व्यक्त गर्दै भन्नुभयो ।

उता कुशे गाउँपालिका–८ मालुतरामा सिँचाइ सुविधा आधा निर्माण गरिएको छ । प्रदेश सरकारले दिएको रु १५ लाखमा आधा काम भएको र अर्को वर्ष बजेट थप गरेमा मात्र यहाँका सर्वसाधारणले राम्रोसँग सिँचाइ सुविधा उपभोग गर्न पाउने भएका छन् । एक सय १० घरधुरी रहेको मालुतरामा अब रु १० लाख आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र रोकायले जानकारी दिनुभयो । अधिकांश पाखो जमीन रहेको मालुतरामा सिँचाइ योजना सम्पन्न भएसँगै यहाँका सर्वसाधारण सिँचाइ सुविधाको पहुँचमा पुग्ने छन् । सिँचाइ सुविधा पुगेको ठाउँमा कार्यालयले सिँचाइ गर्न, औषधि प्रयोग गर्नका लागि विभिन्न उपकरणसमेत वितरण गरेको छ । त्यस्तै कृषिजन्य वस्तु उत्पादन भई बजारीकरण गर्न कृषि सडक निर्माण कार्यसमेत जारी रहेको छ ।

यो सँगै अहिले जिल्लाभरि समस्या र प्रथामिकताका आधारमा कृषि विकास कार्यालयले योजना निर्माणकार्य जारी राखेको छ । जुनिचाँदे गाउँपालिकामा ओखरका बिरुवासमेत वितरण गरी अर्को वर्ष फल दिने सम्भावना बढेको छ । त्यस्तै जैविक उत्पादनका लागि जिल्लाका कुशे गाउँपालिकामा विभिन्न कामहरु भएको सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यको इच्छानुसार केही योजना सञ्चालन भएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा त्यस्ता योजना प्रदेशसभा सदस्यले सञ्चालन गर्नुभएको छ ।

जिल्लाको कूल जमीन दुई लाख २२ हजार ८८१ हेक्टर रहेको छ । यसमध्ये कूल खेतीयोग्य जमीन २५ हजार ३८४ हेक्टर छ । त्यसमध्ये १६ हजार ६९८ हेक्टरमा खेती गरिएको छ । सात हजार ९११ हेक्टरमा सिँचाइ गर्न सक्ने अवस्था रहेको छ । चार हजार ९६९ हेक्टरमा मात्र वर्षभरि सिँचाइ गर्न सक्ने अवस्था छ । सबैभन्दा बढी जाजरकोटमा मकैबाली उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री