मंगलबार, ६ चैत २०८०

कुस्मा-बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा

समयपोष्ट २०७७ असार ४ गते ८:२६

Advertisement

लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ । केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल आजदेखि नियमितरुपमा सञ्चालनमा आएका हुन् । कुस्मा–बलेवा यान्त्रिक पुल गएको चैत ९ गतेदेखि बन्द भएको थियो भने बञ्जीपुल व्यावसायिकरुपमा सञ्चालनमा नआउँदै लकडाउन सुरु भएको थियो ।

यात्रुको सेवालाई ध्यानमा राखेर सेवा सुचारु गरिएको कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । लकडाउन खुकुलो भएको र यात्रु आवतजावत गर्न थालेका कारण भौतिक दूरी कायम गरी सुरक्षाको उपाय अवलम्बन गरेर सेवा सुचारु गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । “लामो समयको बन्दपछि यात्रुको सुविधा र सुरक्षासमेतलाई ध्यान दिएर सेवा सुचारु गरेका छौँ”, उहाँले भन्नुभयो । यान्त्रिक पुलमा यसअघि आठ जना यात्रु राखेर यात्रा गराइदै आएकोमा भौतिक दूरी कायम गराउन चार जना मात्रै यात्रु राखिनेछ । मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश गर्दा र झर्दा स्यानेटाइजर प्रयोग गर्ने व्यवस्थासमेत मिलाइएको उहाँले जानकारी दिनुभयो । यान्त्रिक पुलबाट यस अघि दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्दै आएका थिए ।

यसैगरी सहासिक पर्यटनका लागि निर्माण गरिएको विश्वकै अग्लो पैदलयात्री बञ्जीपुलमा पनि बिहीबारदेखि नै नियमित सेवा सञ्चालनमा आउने भएको छ । कुस्मादेखि बागलुङको बलेवासम्म निर्माण गरिएको पुलमा आवतजावत गर्न शुल्क लिएर खुल्ला गरिएको ‘द क्लिफ’ का सञ्चालक नेत्र पराजुलीले जानकारी दिनुभयो । पुलमा रु १२० तिरेर आवतजावत खुल्ला गरिएको छ । बञ्जी पुल सम्भवतः नेपालको एकमात्र शुल्क लिएर पैदलयात्रा गर्न पाइने पुल हो । पर्यटक र यात्रुको सुविधालाई ध्यानमा राखेर सुरक्षाका उपायसहित पुल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

पुलमा उभिन नपाइने, सरासर यात्रा गर्नुपर्ने र मास्क अनिवार्यरुपमा लगाउनुपर्ने नियम बनाइएको छ । कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको माथि ५३५ मिटर लम्बाइ र २४५ मिटर उचाइमा पुल निर्माण भएको छ । पुलमा नै सञ्चालनमा आएको विश्वको दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै अग्लो स्विङ र नेपालकै अग्लो लठ्ठे पिङ भने तत्काल सञ्चालनमा नआउने सञ्चालक पराजुलीले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री