बुधबार, १२ वैशाख २०८१

जेठ २५ गतेसम्ममा सबै कर चुक्ता गर्न निर्देशन

समयपोष्ट २०७७ जेठ २० गते १४:५६

Advertisement

आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र बुझाउनुपर्ने सम्पूर्ण कर बक्यौता बुझाउन निर्देशन दिएको छ।

विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ।

विभागले प्रत्येक महिनाको २५ गतेसम्म भुक्तानी गर्नुपर्ने करहरु जेठ २५ गतेसम्म र प्रत्येक महिनाको मसान्तसम्म भुक्तानी गर्नुपर्ने करहरु जेठ मसान्तसम्म भुक्तानी गर्नुपर्ने जनाएको छ । जसअनुसार गत फागुन र चैत महिनाको मासिक विवरण, माघ र फागुन महिनाको द्वैमासिक विवरण र मंसिरदेखि फागुनसम्मको भ्याटको चौमासिक विवरण यही जेठ २५ गतेसम्म दाखिला गरिसक्नुपर्नेछ ।

त्यस्तै, फागुन र चैत महिनाको अन्तशुल्कबापतको कर समेत सोही अवधिमा बुझाइसक्नुपर्नेछ । अग्रिम आयकर कट्टीको रुपमा फागुन र चैत महिनाको अग्रिम करको विवरण बुझाउने र त्यसअनुसारको रकम दाखिला गर्ने अवधि पनि जेठ २५ गतेसम्म नै तोकिएको छ । त्यस्तै, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार शुल्क लगायत शुल्कहरु पनि सोही अवधिभित्र बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ । सामान्य अवस्थामा यी सबै दायित्व चैत २५ मा तिर्नुपर्ने दायित्व हो ।

आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापत तिर्नुपर्ने रकम भने जेठ मसान्तभित्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो चैत मसान्तको दायित्व हो । सरकारले जेठ ३२ सम्मको लागि लकडाउन जारी राखेको छ । लकडाउन घोषणा भएका कारण बन्द रहेका उद्योग व्यवसायलाई राहत दिनका कर तिर्ने समय पर सारिएको भए पनि लकडाउन कायमै रहँदा यसलाई तिर्न ताकेत गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री