बिहीबार, ६ वैशाख २०८१

कोरोनाविरुद्ध क्वारेन्टाइन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्म भक्तपुरको तयारी

rss २०७७ जेठ १९ गते ८:३०

Advertisement

रमेश गिरी

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न भक्तपुरस्थित सङ्कट व्यवस्थापन समिति (सिएमसी) ले विभिन्न योजनासहित तयारी अगाडि बढाएको हो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले वडा, नगर र जिल्लास्तरमा कोरोना भाइरस सङ्क्रमण रोक्न योजनाबद्ध रूपमा जिम्मेवारी वहन गर्ने गरी तयारी शुरु गरिएको सिएमसीका संयोजक एवं भक्तपुरका प्रजिअ हुमकला पाण्डेले जानकारी दिनुभयो । कोभिड–१९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टिन, उपचार तथा आइसोलेशन र सङ्क्रमितको ज्यान गए शवको उचित व्यवस्थापनसम्मको तयारी गरिएको उहाँको भनाइ छ ।

सरकारले विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १, २ लगायत पूर्वी जिल्ला जाने नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर ल्याएर निश्चित समय क्वारेन्टिनमा राखिने भएको छ । भक्तपुरमै पनि सङ्क्रमित बढ्दै गएको अवस्थामा राख्ने क्वारेन्टिनको व्यवस्था गरिने भएको छ ।

हाल खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण र नगरकोटको खानेपानी तालीम केन्द्रमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार सरकारले तयार पारेको ३०८ जना क्षमताको क्वारेन्टिन विदेशबाट फर्किएका नेपालीका लागि प्रयोगमा ल्याइने छ । आवश्यक पर्दा मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा ५० जना क्षमताको क्वारेन्टिन बनाउने तयारी गरिएको छ ।

यसबाट पनि अपुग भएमा अस्थायी क्वारेन्टिन बनाउने गरी खुला क्षेत्रको समेत पहिचान गरिएको छ । नगरकोटको होटलमा क्वारेन्टिन बनाउने सन्दर्भमा भने सङ्घीय सरकारबाटै पहल भइरहेको छ । राजमार्गका होटलमा क्वारेन्टिन बनाउनेबारे भएको छलफलमा होटल सञ्चालक सहमत भए पनि सरकारले निश्चित शुल्क दिनुपर्ने उनीहरुको माग छ । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिए तत्काल सङ्क्रमितलाई राख्न क्वारेन्टिन तथा आइसोलेशन कक्ष बढाउने गरी तयारी भएको हो ।

यस्तै भक्तपुरमा रहेका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ को उपचार तथा आइसोलेशन कक्षको व्यवस्थापनबारे छलफल र तयारी भइरहेको प्रजिअ पाण्डेको भनाइ छ । जिल्लाका चारवटै नगरपालिकालाई कम्तीमा एकएक वटा शव वाहनको व्यवस्था गर्न, प्रत्येक नगरपालिकामा क्वारेन्टिनको व्यवस्था गर्न, विदेशमा रहेकाको लगत सङ्कलन गर्न पत्र पठाएर नगरस्तरमा पनि तयारी थालिएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई पनि शव वाहनको व्यवस्था गर्न भनिएको छ । जिल्ला–जिल्लामा यस्तो व्यवस्थापन नहुँदा काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी महिलालाई भक्तपुरको सवारी साधन र जनशक्ति गएर पशुपतिको विद्युतीय शवदाह गृहसम्म ल्याउनु परेको थियो । धुुलिखेल अस्पतालमा कोरोनाबाट ज्यान गएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव लैजान सवारी साधन र शव व्यवस्थापन भक्तपुरबाट गएका तालीम प्राप्त अरुण सैँजू र राजेश गाइजूले गर्नुभएको थियो । यस्तो अवस्था भक्तपुरमा नआओस् भनेर कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाको शवको व्यवस्थापन गर्न यहाँका नगरपालिका र रेडक्रसलाई एकएक वटा शव वाहनको व्यवस्था गर्न निर्देशन दिइएको हो ।

क्वारेन्टिनको तयारीदेखि शव व्यवस्थापनसम्मका लागि नेपाली सेनाको नेतृत्वमा टोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको संयुक्त सुरक्षा टोलीले सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनको प्रत्येक साता सफाइ गर्ने र तयारी अवस्थामा राख्नेदेखि शव व्यवस्थापनका लागि तालीम प्राप्त १५ जनाको टोली तयारी अवस्थामा राखिएको वीरदल गण सूर्यविनायकका गणपति एवं प्रमुख सेनानी शिव पौडेलले बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउनसँगै सीमा नाकामा कडाइ गरिएको जानकारी दिनुभयो । सीमा नाकाबाट अत्यावश्यक र गृहमन्त्रालयका पासबाहेक अन्यलाई भक्तपुर भित्रिन नदिएको र साँगा एवं नाला नाकामा कडाइ गर्नाका साथै अन्य लुकेर आउनसक्ने भित्री नाकामा समेत निगरानी बढाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री