बुधबार, १२ वैशाख २०८१

१८ वर्षमुनिका किशोरी आफन्तबाटै बढी असुरक्षित, बाबु र मामाबाटै पटकपटक बलात्कृत

समयपोष्ट २०७७ जेठ १९ गते ७:४२

Advertisement

सुनसरीको इटहरी उपमहानगरपालिका-७ की १६ वर्षीया किशोरी आफ्नो बाबुबाट पटकपटक बलात्कारको सिकार भइन् । झट्केलो बाबुले घरमा कोही नभएको मौका छोपी छोरीमाथि यौन हिंसा गर्दै आएका थिए ।

किशोरीलाई घटनाबारे कसैलाई नभन्न धम्की दिने गर्थे । पहिलोपटक बलात्कारको घटना हुदा किशोरीले आमा र आफन्तलाई बताएकी थिइन् । तर कसैले विश्वास गरेनन् ।

गत वर्ष पुसमा उनी दोस्रोपटक बलात्कारको सिकार हुन पुगिन् । त्यसपछि भने उनी मानसिक रुपमा गुज्रिन पुगिन् । कक्षा १० मा पढ्दै आएकी उनको परीक्षामा समेत प्रभाव पर्‍यो । पढाइमा अब्बल भएका कारण विद्यालयले आग्रह गरेपछि मात्र उनले परीक्षा दिएकी हुन् । पीडित बालिकाका एक जना आफन्तले महिला अधिकारकर्मीलाई घटनाबारे जानकारी गराएका थिए ।

अधिकारकर्मीको पहलमा इलाका प्रहरी कार्यालय इटहरीले आरोपित बुवालाई पक्राउ गर्न सफल भयो । उनीमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । आरोपित अवकाशप्राप्त शिक्षक हुन् । उदयपुरको रामपुर स्थायी ठेगाना भएका पीडक इटहरीमा बस्दै आएका थिए । किशोरीलाई ओरेक नेपाल सुनसरीको पहलमा विराटनगरको सेभ हाउसमा राखिएको थियो । तर पारिवारिक दबाब आएपछि उनका आमाले किशोरीलाई शनिबार घर लगेकी छन् ।

धरान-१७ की १४ वर्षीया बालिकाले वडा कार्यालयमा पुगी जनप्रतिनिधि र सामाजिक परिचालिकालाई आफू बलात्कृत भएको बताइन् । जेठ १६ गते दिउँसो आफूलाई बुवाले बलात्कार गरेको भन्दै गुहार माग्न वडामा पुगेपछि प्रहरीले आरोपित बुवालाई पक्राउ गर्‍यो । हाल आरोपितविरुद्ध पीडितकी आमाले जबरजस्ती करणी मुद्दा दर्ता गरेकी छन् । पीडक अहिले हिरासतमा छन् । आमा ठूलीआमाको घरमा काम सघाउन गएको बेला बुवाले बलात्कार गरेको बालिकाको भनाइ छ । उनीमाथि यसअघि पनि बुवाले बलात्कार गरेका थिए । बालिकाले एकपल्ट आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । छिमेकीका अनुसार घटना सार्वजनिक गरेको भन्दै बालिकालाई परिवारले दबाब दिँदै आएको छ । अभियुक्त पूर्वप्रहरी हुन् । उनका दुई जना श्रीमती रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, दुहबीमा आफ्नै मामाले भान्जीलाई बलात्कार गरेका छन् । आफ्नै घरमा बस्ने १० वर्षीया भान्जीलाई करणी गरेको पाइएको छ । जेठ ५ गते उक्त घटना भएको हो । बालिकाले आफू बलात्कृत भएको बताएपछि प्रहरीमा उजुरी परेको थियो ।

बालिकाका अनुसार कोही नभएको मौका छोपी मामाले जबरजस्ती गरेका थिए । परिवारका सदस्यले नै आरोपितलाई भगाएको खुलेको छ । उनीमाथि दुहबी प्रहरीले खोजी जारी राखेको जनाएको छ । हाल बालिकालाई दुहबीको अनाथ आश्रममा राखिएको छ । पीडितकी आमा काठमाडौंमा बस्दै आएकी छन् ।

इटहरी उपमहानगरपालिका २० मा पनि एक किशोरीमाथि बलात्कारको प्रयास भयो । गत वैशाख २६ गते १८ वर्षीया किशोरीलाई मन्टेश्वरी सञ्चालकले बलात्कारको प्रयास गरेका थिए । मन्टेश्वरीका लागि आएका नयाँ किताब मिलाउनुपर्ने भन्दै घरमा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

आजको कान्तिपुरमा सुम्निमा चाम्लिङले यो समाचार लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री