शुक्रबार, १६ चैत २०८०

स्वास्थ्य कार्यक्रमले किशोरकिशोरीको मनोबल बढायो

समयपोष्ट २०७६ जेठ ७ गते १४:०३

दुर्गा देवकोटा

चौध वर्षीया संगीता धामीलाई महिनावारी हुँदा निकै पेट दुख्छ । उनी घरमा अभिभावकलाई पनि खुलेर भन्न सक्दिनन्, विद्यालय नजीकै रहेको स्वास्थ्य संस्थामा उपचारमा जान पनि हिम्मत गर्दिनन् । एकदिन उनलाई विद्यालयमा निकै गाह्रो भयो । के भयो भनेर शिक्षकले सोध । उनले उत्तर दिइन् – “टाउको दुख्यो ।” शिक्षकले उपचार गर्न जाउ भनेपछि विद्यालय नजीकै रहेको नारायणपुर स्वास्थ्य चौकीमा गइन् । उनी छट्पटाई रहेकी थिइन् ।

Advertisement

किशोरकिशोरीमैत्री स्वास्थ्य कार्यक्रमका फोकल पर्सन स्वास्थ्यकर्मी (अनमी) शान्ता बरालले सोधिन – “के भयो नानी ?” उनले भनिन् – “टाउको दुख्यो ।” उनी रुनमात्रै बाँकी थिइन् । स्वास्थ्यकर्मीले सोध्दै गइन् – “महिनावारी नियमित हुन्छ ?” उनी बोलिनन् । स्वास्थ्यकर्मी बरालले फेरि थपिन् – “महिनावारी हुँदा गाह्रो हुन्छ ?” किशोरीले भनिन् – “अह“ ।”

स्वास्थ्यकर्मीले फेरि भनिन् – “मलाई महिनावारी हुँदा निकै पेट दुख्थ्यो, अनि मैले उपचार गरेपछि सञ्चो भयो ।” त्यसपछि किशोरीले भनिन् – “हो र † मलाई नि निकै पेट दुखेको छ । मैले लाजले भन्न सकिन “ म महिनावारी हुँदा दुई दिन निकै पीडा हुन्छ ।”
स्वास्थ्यकर्मी बराल भन्छिन् – “किशोरीहरुमा शारीरिक परिवर्तनसँगै थुप्रै खाले समस्या छन् तर, उनीहरु खुलेर समस्या राख्न वा उपचारमा जान सकेका छैनन् ।” बरालका अनुसार किशोरीहरु स्वास्थ्य संस्थामा पुरुष स्वास्थ्यकर्मीले उपचार गर्ने भएर पनि समस्या लुकाएर बस्ने गरेका छन् । किशोरीहरु सहनै नसक्ने समस्या भए मात्रै उपचारमा आउँछन् ।

त्यस्तै, कक्षा ९ मा अध्ययनरत १५ वर्षीया एक किशोरी गर्भवती भइन् । सँगै पढ्ने साथीसँग यौन सम्बन्ध भएपछि उनी गर्भवती भइन् । सँगै पढ्ने उनको साथी पनि १५ वर्षका थिए । उनले आफ्नी प्रेमिका गर्भवती भएको थाहा पाएपछि पढाइ छोडेर भागे । उनी किशोरीलाई स्वीकार्न नसक्ने भन्दै भारततिर हिँडेपछि किशोरी आत्तिइन् । उनले गलत धारणा बनाउन थालिन् ।

उनी भन्छिन् – “आत्महत्या गरौं जस्तो लाग्यो । आठ दिनसम्म विद्यालय पनि गइन् । घरमा बिरामी छु भने ।” आठ दिनसम्म विद्यालय नगएपछि विद्यालयकै साथी शिक्षक घरमा आइन् । उनी भन्छिन् – “मैले घर नजीकै रहेको घाँसबारीमा बसेर रुँदै मेरो समस्या साथी शिक्षकलाई सुनाए । उनीसँगको लामो छलफलपछि म स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीलाई भेटें ।”

उनी थप्छिन् – ‘‘स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गरेर मैले नयाँ जीवन पाए“ । यो कुरा मेरो घरपरिवारलाई पनि थाहा छैन । म अहिले कक्षा ९ मा दोस्रो भएँ । मेरो पढाइ नियमित छ । शायद साथीले नसम्झाएको भए म बर्बाद हुने थिएँ ।” समयमै परामर्श नपाएको भए जिन्दगी बिग्रने बताउने उनी हाल अन्य साथीलाई पनि किशोरावस्थामा गर्न नहुने गल्तीबारे परामर्श दिने काम गर्छिन् ।

किशोरकिशोरीमा देखिने समस्या समाधानमा सहज होस् भनी कैलालीको टीकापुर नगरपालिकाले किशोरकिशोरीमैत्री स्वास्थ्य कार्यक्रम लागू गरेको छ । नगरपालिकाले तीन वटा स्वास्थ्य टीकापुर अस्पताल, नारायणपुर स्वास्थ्य चौकी र धनसिंहपुर स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री स्वास्थ्य कार्यक्रम लागू गरेको हो ।

किशोरकिशोरी लागुपदार्थ दुव्र्यसनमा फस्ने जोखिम बढी छ । यौन तथा प्रजनन समस्या, बालविवाह जस्ता विषयमा अनभिज्ञ रहेकाले जनचेतना वृद्धिका साथै उनीहरुमा देखिने समस्या समाधानका लागि स्वास्थ्य कार्यक्रम लागू गरिएको हो । हरेक स्वास्थ्य संस्थामा किशोरका लागि पुरुष, किशोरीका लागि महिला स्वास्थ्यकर्मी तोकेर छुट्टै गोप्य कोठामा सेवा दिने व्यवस्था नगरपालिकाले मिलाएको छ । स्वास्थ्य संस्था खुल्ने समय र विद्यालय खुल्ने समय एउटै हुने भएकाले हरेक साताको शुक्रबार एक बजेदेखि तीन बजेसम्म किशोरकिशोरीका लागि स्वास्थ्यकर्मीले समय मिलाएका छन् ।

साथै, नगरपालिकाले विद्यालय केन्द्रित साथी शिक्षा कार्यक्रम टीकापुरका ५ वटा विद्यालयमा लागू गरेको छ । खड्ग स्मृति मावि, कर्णाली मावि, हिमालय मावि घिया, राष्ट्रिय मावि मनिकापुर र जनजागृति मावि टीकापुरमा विद्यालय केन्द्रित साथी शिक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले जानकारी दिए । विद्यालयका एक शिक्षक र दुई विद्यार्थी (एक छात्र/एक छात्रा) लाई किशोरकिशोरीमा देखिने स्वास्थ्य समस्याबारे प्रशिक्षण दिइएको स्वास्थ्य संयोजक रावल बताउँछन् । रावलका अनुसार यिनीहरुले विद्यालयमा साथीलाई शिक्षा दिने काम गर्छन् । उनीहरुको जिज्ञाशा मेटाउने र परामर्श दिने काम गर्छन् । समस्यामा रहेकालाई स्वास्थ्य संस्थामा प्रेषण गर्छन् ।

खड्क स्मृति मावि टीकापुरकी साथी शिक्षिका करुणा रेग्मी आपूmले एक वर्षमा ६४२ किशोरकिशोरीलाई परामर्श दिएको बताइन् । उनले किशोरकिशोरीमा यौन जिज्ञाशा उब्जने, शारीरिक परिवर्तनका कारण पर्ने नकारात्मक सोच आउने, यौन समस्या लुकाउने, महिनावारी हुँदा विद्यालय नियमित नजाने जस्ता समस्या देखिएको बताइन् । रेग्मीले भनिन् – “म र दुईजना दौंतरी शिक्षकले उनीहरुका समस्याबारे छलफल गर्छौ । अहिलेसम्म दश जना किशोरीलाई टीकापुर अस्पतालमा स्वास्थ्यकर्मीबाट परामर्श दिलाएका छौं ।” शुरुशुरुमा लजाउने विद्यार्थीहरु आजभोलि एक्लै भेटेर समस्याबारे छलफल गर्न थालेको उनले बताइन् ।

जनजागृति उच्च मावि सीतापुरकी शिक्षिका उर्मिला रावलले विद्यालय केन्द्रित साथी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताइन् । उनले भनिन् – “स्थानीय सरकारको सहयोगमा विद्यालयमा कार्यक्रम लागू गरेका छौं । अहिलेसम्म कक्षा ६ देखि १२ सम्मका १५० जना विद्यार्थीसँग छलफल भएको छ । बढी जसो किशोरीहरु महिनावारी हँुंदा तल्लो पेट दुख्ने, किशोरहरु स्वप्न दोष हुँदा डराउने, यौन रोग लाग्यो कि भनी त्रसित रहने जस्ता समस्या छन् । हामी उनीहरुलाई यस्ता समस्या सामान्य हुन भनी सम्झाउ“छौं ।” स्वास्थ्यमा समस्या देखिएका विद्यार्थीलाई भने स्वास्थ्य संस्थासम्म पुर्‍याउने काम पनि गरिरहेको रावलले बताइन् ।

नगरपालिकाले यो कार्यक्रम प्रभावकारी बन्दै गएका कारण यस वर्ष थप केही विद्यालयमा समेत लागू गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री