बिहीबार, १३ वैशाख २०८१

बहुप्रतिक्षित मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन: अब अढाई किमी ओछ्याउन बाँकी

समयपोष्ट २०७६ जेठ ३ गते १०:२२

Advertisement

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ ।

बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।

नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६७.७ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीब २.५ किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ ।

पाइपलाइन बिछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा छ हजार ५०० ठूलासाना रुख काटिने काम सम्पन्न भइसकेको छ भने रुखको जरा उखेल्ने काम धमाधम भइरहेको पेट्रोलियम पाइप लाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले जानकारी दिए ।

अब २.५ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पाइप बिच्छ्याउने काम सम्पन्न भएपछि बाँकी रहेका प्रक्रिया पूरा गरी पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने विश्वास व्यक्त गरिएको छ । विसं २०७४ चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइ भएको सो पाइप लाइन रु २७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको रु २०० करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री