शनिबार, ८ वैशाख २०८१

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

समयपोष्ट २०७६ जेठ २ गते ११:४७


खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको हो ।

Advertisement

जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौँ, भक्तपुरलगायतमा रहेका सरकारी अस्पतालबाट बीमाको शर्तअनुसार स्वास्थ्य उपचार सेवा लिन पाउनेगरी स्वास्थ्य बीमा दर्ता भइरहेको स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले बताए । “हरेक वडामा नियुक्त स्वास्थ्य बीमा दर्ता सहयोगीले नाम दर्ता र परिचयपत्र वितरण गरिरहेका छन्”, उनले भने, “विसं २०७४ पुस २४ गतेदेखि अहिलेसम्ममा १७ हजार ४५१ ले बीमा गरिसकेका छन् ।”

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमाडौँअन्तर्गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकको स्वास्थ्य बीमा फागुन १ बाट, माघदेखि चैतसम्म नाम दर्ता गरेका नागरिकको बीमा जेठ १ बाट, वैशाखदेखि असारसम्म नाम दर्ता गरेका नागरिकको भदौ १ बाट र साउनदेखि असोजसम्म नाम दर्ता गरेका नागरिकको बीमा मङ्सिर १ गतेबाट लागू हुने जनाइएको छ । १७ हजार बढीले स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिइसकेका जिल्लामा बीमा लागू हुने महीनाको अघिल्लो महीना बीमा गराउनेको चाप बढी हुने गरेको जनाइएको छ ।

पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० को स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य उपचार सेवा पाउने भएपछि स्थानीय यो कार्यक्रमप्रति हौसिएका छन् । पाँचभन्दा बढी सदस्य भएको परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति रु ४५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि रु ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी सेवा पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री