शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास

समयपोष्ट २०७४ जेठ १४ गते ६:०८

बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुभएको छ । 
आइतबार नेपाली सेनाद्वारा बारा जिल्लाको निजगढमा आयोजित औपचारिक कार्यक्रममार्फत् प्रधानमन्त्रीले फास्ट ट्रयाकको शिलान्यास गरेका हुन् । शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘फास्ट ट्रयाक नेपाल आफैले निर्माण गर्न सक्छ कि सक्दैन भन्ने चुनौति हामीकहाँ थियो, यसलाई नेपाल आफैले निर्माण गर्न एउटा नयाँ संकल्पको खाँचो थियो । सरकारले त्यही संकल्प गरेर यो शिलान्यास हुँदैछ, आज सिंगो देश गौरवान्वित भएको छ । सम्पूर्ण नेपालीहरुमा आत्म विश्वास र भावनात्मक एकता अभिवृद्धि भएको छ ।’
द्रुत मार्गले काठमाडौं र तराई मधेशलाई दुरीका हिसाबले मात्रै नजोड्ने प्रधानमन्त्रीले बताए । उनले भने, ‘फास्ट ट्रयाक निर्माणले तराई–मधेश र काठमाडौं बीचको दुरी र समय त घटाउने नै छ । तर, त्यसभन्दा ठूलो र मूख्य कुरा तराई–मधेश र काठमाडौं बीचको भावनात्मक दुरी घटाउने छ । देशलाई एकतावद्ध गर्ने, राष्ट्रिय एकतालाई बलियो बनाउने र सिंगो देशलाई समृद्धिको दिशामा लैजाने हाम्रो सपनालाई समेत सार्थक बनाउने छ ।’
प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले ईच्छाशक्ति र इमान्दारिता भयो भने छोटै समयमा पनि धेरै गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताउनु भयो । प्रचण्डले भने, ‘ईच्छाशक्ति भयो भने छोटै समयमा धेरै गर्न सकिने रहेछ, दश महिना अघिसम्म यो देशमा लोडसेडिङ अन्त्य होला भन्ने कसैले कल्पना गर्दैनथ्यो, यति ठूलो आर्थिक वृद्धिदर होला भन्ने सोच्दैनथ्यो । तर, हामीले रातदिन मेहेनत गरेर सम्भव बनाएका छौं । लोडसेडिङ हटेको छ, उज्यालो युगको आरम्भ भएको छ, २४ वर्षयताकै ७.५% आर्थिक वृद्धिदर हासिल गरिएको छ, विकास आयोजनाहरु तिब्रतामा सम्पन्न हुँदैछन्, स्थानीय तहको निर्वाचनले देशमा राजनीतिक स्थीरता र विकासको मार्गलाई गति दिएको छ । यी उपलब्धिहरुलाई घटाउनु आगामी सरकारहरुका लागि लाजमर्दो हुनेछ, हाम्रा उपलब्धि नेपाली इतिहासमा मानक बनेका छन् ।’
प्रधानमन्त्रीले नेपाली सेनाले तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाली सेना नेपालको भौगोलिक अखण्डता, स्वाभिमान, सार्वभौमसत्ताको रक्षाका लागि पहरेदार रहँदै आएको छ । राष्ट्रियताको रक्षा र विकासका लागि नेपाली सेनाले खेलेको भूमिकाको उचित कदर गरेर नै सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको हो । मलाई पूर्ण विश्वास छ, यो अवसरलाई नेपाली सेनाले राम्रोसँग उपयोग गर्नेछ ।’
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ४ वर्षभित्र फास्ट निर्माण हुने बताउँदै यसले काठमाडौं र मधेशको विकास र मनोविज्ञानलाई जोड्ने बताए । कार्यक्रमका अर्का वक्ता रक्षामन्त्री बालकृष्ण खाँणले फास्ट ट्रयाक निर्माणका लागि प्रधानमन्त्रीले देखाउनुभएको साहस र दृढता उच्च रहेको भन्दै नेपाली सेनाले सरकारको विश्वासलाई पुरा गर्ने बताए । त्यस्तै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाले तोकिएकै समयमा फास्ट ट्रयाक निर्माण गरेर सेना र जनता बीचको सम्बन्ध र विकासप्रतिको दायित्व थप बलियो बनाउने बताए ।
बैशाख २१ गतेको मन्त्रीपरिषद बैठकले बाराको निजगढबाट ललितपुरको खोकनासम्मको ७६.२ किलोमिटरको काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । फास्ट ट्रयाकको निर्माणका लागि १० वटा निर्माण समूह बनाइएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्श दाताको छनोट गरी उच्च प्रविधिको प्रयोग गरिने, फास्ट ट्रयाक चार लेनको हुने, सडक मार्गमा ९ वटा पुल, ६ वटा आकाशे पुल र डेढ किमी सुरुङ मार्ग निर्माण गरिने, राजश्व संकलन केन्द्र, ट्राफिक व्यवस्थापन लगायतका विषयलाई निर्माण योजनामा समावेश गरिएको आयोजना प्रमूख तथा नेपाली सेनाका उपरथि योगेन्द्र बहादुर खाँणले जानकारी दिए ।   

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री