शुक्रबार, १६ चैत २०८०

‘पहिलो चरणको निर्वाचन लगत्तै देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

समयपोष्ट २०७४ वैशाख २० गते १२:१७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमति अनुसार नै जेठको पहिलो साता काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षातकारमा बोल्दै सल्लाहकार खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि पनि अहिलेकै काँग्रेस–माओवादी केन्द्रको वर्तमान गठबन्धन नै कायम रहने विश्वास दिलाए । उनले भने,‘जेठको पहिलो साता काँग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, काँग्रेस र माओवादीवीच भएको भद्र सहमति तोडिँदैन् ।’ उनले विगतमा सत्ता समिकरणहरु भद्र सहमतिका कारण तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति नदाहोरिने स्पष्ट पारे । 
उनले प्रचण्ड–देउवावीचको वर्तमान गठबन्धन नतोडिने स्पष्ट पार्दै भने,‘हामीबीच भएको सहमति अनुसार स्थानीय तहको बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन लगत्तै देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्क भएहुन्छ।’ उनले बजेट र अर्को चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भिर छलफल भैरहेकोले सहमति अनुसार नै यसमा निर्णय लिईने बताए । खनालले जेठ १५ गते नै बजेट ल्याउनेगरि सरकारले गृहकार्य थालेको समेत जनाए । 
खनालले सरकारले परिमार्जनसहित संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमतिमा नै पारित गराउन गृहकार्य गरिरहेकोले संशोधन प्रस्ताव पारित हुने विश्वास दिलाए । उनले भने,‘मधेशलाई पनि विश्वासमा लिएर जानुपर्छ, यो पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दुई वटा चुनावको मिति पनि चाँडै अब बन्ने सरकारले घोषणा गर्छ।’ उनले यही ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरे । उनले भने,‘अब संसदको म्याद थपिँदैन्, माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुन्छ।’
खनालले राप्रपाले सरकार छोड्नुमा पार्टीको आन्तरिक कारण भएको समेत जिकिर गरे । उनले भने,‘सामन्तवाद र राजतन्त्रका अवशेषहरुले राप्रपा फुटाउने भएपछि उहाँ पार्टी एकता जोगाउनको लागि सरकारबाट बाहिरिनुभएको भन्ने कुरा आएको छ, यो हो भने अत्यन्तै स्वागतयोग्य कुरा हो, फेरि पनि उहाँ सरकारमा सहभागी हुन सक्नुहुन्छ।’ उनले पार्टी एकता बलियो बनाएर पूनः काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा सहभागी भए कमल थापालाई आफूहरुले जहिलेपनि स्वागत नै गर्ने स्पष्ट पारे । 
त्यस्तै खनालले स्थानीय तहको निर्वाचनमा एमालेका सचिव योगेश भट्टराईले ६० प्र्रतिशतभन्दा बढि स्थानमा चुनाव जित्ने दाबी गरेकोप्रति टिप्पणी गर्दै भने,‘हामी पनि कम्बल ओढेर बसेका छैनौं र बस्दैनौं ।’ खनालले नेपालको ईतिहाँसमै पहिलोपटक जनताको अधिकार घरदैलोमा जाने भएकोले स्थानीय तहको निर्वाचनमा जनताको उल्लेखनीय सहभागिता हुने विश्वास व्यक्त गरे । 
फरक प्रसँगमा उनले हालै सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्ताव स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे । उनले भने,‘व्यवस्थापिका संसदले आफ्नो अधिकार प्रयोग गरेको हो, व्यक्ति महत्वपूर्ण कुरा होईन, व्यक्ति स्वेच्छचारी भएकोले यो स्वभाविक प्रक्रियामा आएको हो, त्यसैले महाअभियोग प्रस्ताव प्रक्रियामा जान्छ।’
खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । उनले भने,‘पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो हप्ताभित्रै हाम्रो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ, अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ।’
मन्त्री खड्काले सरकारले संसदमा दर्ता गराएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई पारित गराएरै छाड्ने उद्धघोष गरे । उनले भने,‘मधेशको मुद्दा सम्बोधन गरेर नै जानुपर्छ, संशोधन प्रस्ताव पारित हुन्छ, सरकारको पूर्ण प्रयत्न नै यसमा छ।’
खड्काले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन गैरहेकोले सरकारले स्वच्छ र निर्भिक वातावरणमा चुनाव गराउने बताउँदै भने,‘यो सरकार निर्वाचन गराउन सक्षम छ, शंका गर्नुहुँदैन्, निर्वाचनमा भाग लिनको लागि म सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई आग्रह गर्दछु।’ 
उनले स्थानीय तहको निर्वाचनमा ठूला महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेको विषयमा टिप्प्णी गर्दै भने,‘उहाँहरुले तालमेल त गर्नुभयो, तर खोई त महिला उम्मेद्धवार ?’ उनले एमाले–राप्रपा तालमेललाई सत्तामा पुग्नको लागि संख्या बढाउने खेलको संज्ञा दिए । 
उनले राप्रपा वर्तमान सरकारबाट बाहिरिनुको प्रमुख कारण नै राप्रपाभित्रको समस्या भएको जिकिर गरे । मन्त्री खड्काले भने,‘तपाईहरुलाई थाहा नै छ, राप्रपाका सांसदहरु हराएका खबरहरु बाहिर आएका थिए, राप्रपा फुटाउन पूर्वराजा नै सक्रिय भएको कुरा पनि हामीले गाँईगुँई सुन्यौं, त्यसैले आन्तरिक कुरा जे जे भएपनि राप्रपालेपनि चुनावमा भाग लिन्छ।’ राप्रपाले छोड्दैमा सरकारमा भुईँचालो भयो भन्ने कुरामा कुनै सत्यता नभएको समेत स्पष्ट पारे । 
उनले मुलुकको परिवर्तन र अग्रगामी विकासमा काँग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरुको ठूलो योगदान रहेकोले आगामी दिनमा पनि तालमेल गरेर नै अघि बढ्नुपर्नेमा जोड दिए । 
मन्त्री खड्काले एमाले सचिव योगेश भट्टराईले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशतभन्दा बढि जित हाँसिल गर्ने भनेरे दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भने,‘६० प्रतिशत नै एमालेले जितेपछि, अरु के त ?, अरु कुरा हामीलाई थाहा छैन, तर यो निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्छ।’
उनले आफ्नो पार्टीले विगतदेखि अहिलेसम्मको दिनमा आईपुग्दा धेरै आक्रमणहरु सहेको उल्लेख गर्दै भने,‘काँग्रेसले धेरै आक्रमण सहेको छ, कहिले राणाहरुको आक्रमण सह्यो, कहिले राजाहरुको आक्रमण, त्यसैले काँग्रेस शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग छ, अहिले विभिन्न खोल ओढेर यो परिवर्तनको व्यवस्थालाई नै आक्रमण गर्ने खेल भएकोले हामीले प्रधान्यायाधिशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएका हौं, यसबाट काँग्रेस ब्याक हुँदैन्, उनले अहिले जे–जे कुराहरु बाहिर आएका छन्, त्यसको बारेमा संसदमा छलफल भएपछि सबै कुरा थाहा हुन्छ।’ 
उनले सर्वोच्च अदालतमा सुशिला नहुँदा अदालत नै चल्दैन त ? भनेर प्रश्न समेत तेर्साए । कार्कीविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका मन्त्री खड्काले भने,‘पदको दुरुपयोग गर्नहुँदैन्, कार्कीको गतिविधि बिग्रन थालेको थियो, त्यसैले महाअभियोग प्रस्ताव ल्याएका हौं, संसदमा यसबारेमा गहिरो छलफलह हुन्छ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तारुढ दलले अघि सारेको संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव दुवै फिर्ता नलिए आफ्नो पार्टीले सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 
उनले भने,‘प्रचण्ड सरकारले बुद्धि पुर्याउँछ भने यो संशोधन विद्येयक फिर्ता लिनुपर्छ, अब संशोधन प्रस्तावको औचित्य छैन, किनकी देश निर्वाचनमा होमिसकेको छ, अब पनि संसद खरिद बिक्री गरेर बस्ने बेला होईन ।’ 
भट्टराईले काँग्रेसको कामकारबाही जनहितमा नभएको समेत आरोप लगाए । उनले भने,‘काँग्रेस फेरि पनि तीनैको हातमा गयो, जसले ०५१ सालमा संसद किनबेच गर्ने काम गर्यो, हाम्रो देश पछि पर्नुको प्रमुख कारण नै काँग्रेसले लिएको अस्थिर नीति हो, र कमजोर नेतृत्व हो ।’ उनले काँग्रेस नै नेपालको अस्थिरत राजनीतिको जननी भएको दोष लगाए । उनले देश पछि पर्नुको अर्को कारण भने माओवादीले थालेको सशस्त्र युद्ध अर्थात हिंसाको राजनीति रहेको आरोप लगाए । उनले भने,‘यही दुई वटा कारणले गर्दा आज विदेशी शक्तिले नेपालमा खेलिरहेको छ।’
काँग्रेसले गतिलो नीति लिएको भए नेपाली युवाहरु आज लाखौंको संख्यामा खाँडी मुलुक जानुपर्ने बाध्यता आउँदैन्थ्यो भनेर उनले चिन्ता समेत औंल्याए । उनले भने,‘हाम्रो देशमा भएका त्यत्रा उद्योगधन्दाहरु कहाँ पुगे ? खोई बाँसबारी छाला जुत्ता, हेटौंडा सिमेन्ट कहाँ पुग्यो ? जनकपुर चुरोट कारखाना कहाँ पुग्यो ?यी सबै उद्योगधन्दा र कलकारखाना काँग्रेसले कौडीको नाममा बेचेर खाएको हो ।’
दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यसमा जनताहरुको उत्साहजनक सहभागिता रहेको समेत सचिव भट्टराईले स्पष्ट पारे । उनले एमालेको सुदृढ संगठन, बलियो जनाधार र एकताबद्ध नेतृत्व र सबल राख्नको लागि यो चुनाव आफ्नो पार्टीले नै जित्ने बलियो आधार पेश गरे । उनले भने,‘हामी यो चुनाव ६० प्रतिशत भन्दा ज्यादा केन्द्रहरुमा विजयी हुन्छौं, किनकी हामीले लोकप्रिय नेताहरुको उम्मेद्धवारी दिएका छौं, हामीले तालमेल पनि गरेका छौं ।’ 
उनले राप्रपासँग पार्टीले चुनावी तालमेल गरेको विषयलाई नौलो विषयको रुपमा नहेर्न समेत आग्रह गरे । भट्टराईले थपे,‘कमल थापा सबैको नेतृत्व रहेको सरकारमा सहभागी हुनुभएको छ, ओलीजीसँग पनि हुनुभएको छ, क्रान्तिकारी पार्टी माओवादी अध्यक्ष प्रचण्डको नतृत्वमा पनि मन्त्री बन्नुभएको छ, यो नौलो कुरा होईन।’ उनले स्थानीय तथा राष्ट्रिय आवश्यकत्ताले गर्दा एमालेले चुनावी तालमेल गरेको स्पष्ट पारे । 
उनले प्रधानन्यायाधिश सुशिलाकार्कीविरुद्ध ल्याएको महाअभियोग प्रस्तावको विरोध गर्दै वर्तमान सरकारले हठवाजी देखाएको समेत आरोप लगाए । उनले भने,‘यो हठबाजी निर्वाचन भाँड्नको लागि हो, तर जनता जागेपछि कसैको पनि केही लाग्दैन नि।’ देशले एमालेको नेतृत्व चाहेको उनको भनाई थियो । 
राप्रपाका प्रमुख सचेतक एवम् निवर्तमान पर्यटनमन्त्री दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने स्पष्ट पारे । उनले भने,‘मुलुकको निकासको लागि ल्याईएको संशोधन प्रस्तावको पक्षमा हामीले भोट हाल्ने निर्णय गरेका छौं, हामी सरकारमा नभएपनि हाम्रो पूर्ववर्ती निर्णय यथावत छ।’ 
गिरीले सरकारका प्रमुख घटक काँग्रेस र माओवादी केन्द्रले सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुअघि आफ्नो पार्टीसँग कुनै छलफल तथा सल्लाह नै नगरेको गुनासो पोखे । उनले भने,‘हाम्रो पार्टी यो सरकारको तेस्रो ठूलो घटक थियो, तर महाअभियोग ल्याउनेबारे हामीसँग कुनै छलफल नै गरिएन, यो प्रस्ताव गैरसंवैधानिक र अप्रजातान्त्रिक छ, हामी विपक्षमा मतदान गछौं, पार्टीले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेपछि सरकारमा बसिरहनुको कुनै औचित्य हुँदैन्थ्यो।’ उनले स्वतन्त्र न्यायापालिकामाथि महाअभियोग प्रस्ताव दर्ता हुनु दुःखद भएको टिप्पणी गरे । 
उनले दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यो निर्वाचन प्रजातन्त्रलाई बलियो बनाउनको लागि पनि अनिवार्य रहेको कुरा आफ्नो पार्टीले विगतदेखि नै पटक पटक रुपमा आवाज उठाउँदै आएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीले निर्वाचनको पक्षमा सडक र सदन दुवैमा कुरा उठाएका थियौं।’ उनले यसपटकको निर्वाचन विगतको जस्तो नभएको उल्लेख गर्दै सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउन पनि यो महत्वपूर्ण हुने तर्क गरे । गिरीले तोकिएकै मितिमा निवाृचन हुनुपर्छ भन्दै राप्रपा चुनावमा उत्साहजनक रुपमा सहभागी भैरहेको स्पष्ट पारे । 
नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई अन्यौलमा पार्नको लागि वर्तमान सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिशमाथि नियतबस रुपमा महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाएका छन् । 
कर्णले भने,‘सरकारले बैशाख १७ गतेभित्रै संशोधन प्रस्ताव पारित गर्छु भनेको थियो, तर त्यही दिन राप्रपाका सांसदहरुको उपस्थिति नै भएन, र विद्येयक अघि बढ्न सकेन, यो सरकारको नियतमा नै खोट छ, त्यसपछि प्रधानन्यायाधिशमाथि महाअभियोग प्रस्ताव आयो, गृहमन्त्रीले राजिनामा दिए, यो सबै राजनीतिक भुईचालो आउनुको कारण भनेको नै संशोधन प्रस्ताव पारित गराउन नचाहनु हो, ओझेलमा पार्नु हो ।’
कर्णले कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्तावबारे टिप्पणी गर्दै भने,‘महाअभियोग प्रस्ताव ल्याएर व्यवस्थापिका संसदले न्यायपालिकामािथ ठाडो आक्रमण गरेको छ, यो भनेको लोकतन्त्रमाथिको प्रहार हो ।’ उनले राज्यका तीन वटै निकाय व्यवस्थापिका, कार्यपालिका र न्यायालयवीच शक्ति पृथकीकरण र सन्तुलनको तालमेल नमिले देशलाई ठूलो आघात पुग्नेतर्फ सचेत गराए । 
कर्णले संशोधन प्रस्ताव पारित नहुने, स्थानीय तहको संख्या बृद्धि नभए र मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई अझैपनि थुनामा राख्ने हो भने आफूहरु चुनावमा भाग नलिने चेतावनी दिए । उनले वर्तमान सरकारलाई आफूहरुको कुनै समर्थन नरहेको समेत स्पष्ट पारे । कर्णले थपे,‘हामीले गुपचुप रुपमा समर्थन फिर्ता लिएको होईन, बाजागाजा बजाएर नै समर्थन फिर्ता लिएका छौं, अहिलेपनि समर्थन दिएका छैनौं, बिना कारण दिँदापनि दिँदैनौं ।’ 
यद्धपी उनले कार्कीविरुद्ध लगाईएको महाअभियोग प्रस्तावलाई प्रक्रियामा जान दिनुपर्नेमा जोड दिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री