शुक्रबार, १६ चैत २०८०

बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’

समयपोष्ट २०७५ जेठ १ गते १०:३२

नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन शुरु गरिएको छ ।
बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ दशकदेखि संरक्षण गर्दै आएको ५४ बिगाह जग्गा सुकुम्बासीका नाममा अतिक्रमण हुँदै आएपछि अहिले उपमहानगरपालिकाले संरक्षण शुरु गरेको छ ।

Advertisement

संरक्षितमध्येको साढे तीन बिगाह क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनाइने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । खेल मैदानसहित तारबार गरेर संरक्षण गरेको जग्गासहित सार्वजनिक स्वामित्वको खाली जग्गामा व्यवस्थित संरचना बनाउन लागिएको हो । सार्वजनिक जग्गामा अहिले २५ परिवारले घर बनाएर अतिक्रमण गरेका छन् भने केहीले आफन्तका नाममा घर घडेरीको कारोबार गरिरहेका छन् ।

स्थानीय अगुवा गुरुप्रसाद शर्माले भन्नुभयो, “अतिक्रमण गर्ने प्रवृत्ति रोक्न जरुरी छ, जनप्रतिनिधिले राम्रो कामको थालनी गर्दा खुशी लागेको छ ।”

अतिक्रमित जग्गा नापजाँचपछि सार्वजनिक जग्गा प्रमाणित भएमा अतिक्रमणकारीलाई कानूनअनुसार हटाइने र त्यहाँ ट्रान्सपोर्ट भिलेज बनाउने योजना रहेको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । पहिलो चरणमा आठ बिगाह १० कट्ठा जग्गा नापजाँच गरिएको छ । कुनै पनि व्यक्तिको सम्पत्तिमाथि नगरपालिकाले दाबी नगर्ने र स्थानीयवासीको सहमति र सहकार्यमै सार्वजनिक जग्गाको संरक्षण गरिने उहाँको भनाइ छ ।

अर्का अगुवा खगुलाल गिरी सार्वजनिक जग्गाको संरक्षणमा समुदायले पनि चासो दिन जरुरी रहेको बताउनुहुन्छ । यसका लागि संरक्षण अभियान सञ्चालन गर्नु जरुरी छ । उपमहानगरपालिकाले तीन बिगाह १० कट्ठा क्षेत्रफलमा ट्रकलगायतका ढुवानीका सवारी साधन पार्किङ गर्ने गरी ट्रान्सपोर्ट भिलेज बनाउन थालेको हो । ट्रान्सपोर्ट भिलेज नहुँदा बुटवल बजारमा सामान ढुवानी गर्न आवतजावत गर्ने ट्रकलगायतका साधनले ट्राफिक जाम र बजारलाई नै अस्तव्यस्त बनाउने गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री