शुक्रबार, १६ चैत २०८०

प्रकाशन तथा प्रसारण समाज रुपन्देहीको गठन

समयपोष्ट २०७५ वैशाख ३१ गते ६:००

रुपन्देहीका सञ्चारमाध्यमले सबै ठाउँ र वर्ग क्षेत्रका सामग्रीलाई समावेश गर्दै विकासका मुद्दालाई महत्व दिई सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचार तथा अन्य सामग्रीलाई अझै बढी खोजपूर्ण र पठनीय बनाउने निणर्य गरेका छन् ।

Advertisement

रुपन्देहीमा सञ्चालित दैनिक पत्रिका, एफएम रेडियो र टेलिभिजनको संयुक्त भेलाले सञ्चार संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार कर्मचारीको क्षमता विकासमा अभिवृद्धि गराउने, न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गराउने, एक पत्रकार एक सञ्चारगृहको अवधारणा लागू गर्ने पनि निर्णय गरेको छ ।

रुपन्देहीमा सञ्चालित दैनिक पत्रिका, एफएम रेडियो र टेलिभिजनका अध्यक्ष तथा कार्यकारी प्रमुखको बुटवलमा सम्पन्न भेलामा रुपन्देहीका सञ्चारमाध्यमका व्यावसायिक चुनौती र सम्भावनाका सम्बन्धमा व्यापक छलफलपश्चात् चुनौतीलाई अवसरका रुपमा लिएर सबैले स्वस्थ्य प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

भेलामा बुटवल टुडे दैनिकका प्रबन्ध सञ्चालक नवराज कुँवरले सञ्चारमाध्यमका व्यावसायिक चुनौती र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा रुपन्देहीका सञ्चारमाध्यमलाई कसरी प्रतिस्पर्धी बनाउने र समाचारलाई खोजमूलक कसरी बनाउनेदेखि सञ्चार संस्थाको व्यवस्थापनलाई समेत समेटिएको थियो ।

भेलाले ५ नम्बर प्रदेशको राजधानी बुटवलबाट प्रकाशित हुने पत्रपत्रिका वा प्रशारण हुने रेडियो, टेलिभिजन र अन्य सञ्चारका माध्यमलाई अन्य स्थानका भन्दा गुणस्तरीय बनाउने र विषय वस्तु र खोज अनुसन्धानमूलक सामग्रीमा जोड दिने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश र स्थानीय तहबाट प्राप्त हुने विज्ञापनलाई स्थानीय मिडियामा समानुपातिक वितरण प्रणालीमार्फत सिधै सञ्चारमाध्यमलाई उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

भेला तथा अन्तक्र्रियाका निर्णय कार्यान्वयन गर्न तथा सञ्चारमाध्यमलाई व्यावसायिक र व्यवस्थितरुपमा सञ्चालन गर्न बुटवल टुडे दैनिकका प्रबन्ध सञ्चालक नवराज कुँवरको अध्यक्षतामा १३ सदस्यीय प्रकाशन तथा प्रसारण समाज रुपन्देहीको गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख विष्णु भुसाल, सचिवमा बुटवल एफएम तथा तिलोत्तमा दैनिकका कार्यकारी प्रमुख माधव नेपाल र सदस्यमा दैनिकपत्र दैनिकका व्यवस्थापक महेश रिजाल, रेडियो देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेल, रेडियो मलमलाका प्रबन्धक ऋषिराम न्यौपाने, रेडियो रिपब्लिकका स्टेशन प्रमुख उषाकिरण पन्थ, रेडियो मुक्तिका स्टेशन प्रमुख कल्पना तिवारी, रेडियो समावेसीका स्टेशन प्रमुख मिलन गाहा, रेडियो जागरणका स्टेशन प्रमुख विनोद परियार, रुपन्देही एफएमका स्टेशन प्रमुख शंकरप्रसाद पाण्डे, टाइम्स एफएमका प्रबन्ध निर्देशक नरेश चौधरी र एक सदस्यपछि मनोनीत गरिने भएको छ ।

त्यसैगरी भेलाले राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाई, एमवि विश्वकर्मा, विनोद पहाडी, हरिप्रसाद पौडेल, एजाज आलम, पृथ्वी फौदार, वसन्तराज खनाल, मोहन चापागाई, गोविन्द ठडराई, प्रकाश राना, रामराज पोखरेल, दिनेश पाण्डे, इन्दिरा अर्याल, डायलसन अधिकारी र सम्झना शर्मालाई सल्लाहकारमा चयन गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री