बिहीबार, १३ वैशाख २०८१

नामाकरण विवाद : कोशी प्रदेशसभा घेर्न खोज्ने २३ जना पक्राउ

समयपोष्ट २०८० जेठ १४ गते १०:३३

Advertisement

कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्रिय २३ जनालाई प्रहरीले विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका उनीहरुलाई प्रहरीले आइतबार बिहान विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ गरेको हो ।

उनीहरू प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका थिए ।

पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनिवारबाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् ।

गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो। आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन्।

शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए। आज उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन्।

सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री