शुक्रबार, १६ चैत २०८०

तीन हजार तीन सय ६० बिघामा ट्युबेलमार्फत बाह्रै महिना सिँचाइ

समयपोष्ट २०८० जेठ १४ गते ८:४३

Advertisement

चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।

सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताउनुभयो । उहाँका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ । विशेष गरेर कुलो, नहर नभएको र भएर पनि नियमित पानी नआउने ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान गरिएको उहाँले जानकारी दिनुभयो । पश्चिम चितवनका कतिपय ठाउँमा अहिले बाह्रै महिना सिँचाइमार्फत खेती गरिएको स्याङ्बोले बताउनुभयो ।

आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ । डिप ट्युबेलका लागि पाँच प्रतिशत जनसहभागिता आवश्यक पर्छ । त्यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन् । “चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ”, स्याङ्बोल भन्नुभयो, “किसान सानो समूह बनाएर आउने गर्नुभएको छ ।” यस्तै डिप ट्युबेलका करिब ४० बिघा जग्गा क्षेत्रफल भएमात्र उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । “ट्युबेलमार्फत सिँचाइ गर्न किसानले रुचाएका छन्, कार्यालयले माग धान्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको उहाँको भनाइ छ । चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन । नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताउनुभयो ।

बाह्रै महिना चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक छन् । भरतपुर महानगरपालिका २२ गर्भेटाँडीकी इन्दिरा बोटे सिँचाइमार्फत बाह्रै महिना खेती गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । “बोरिङ नहुँदा त खेती नै हुँदैन्थ्यो । जग्गा बाँझो राख्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “आकाशबाट पानी नपरे बाँझै हुन्थ्यो । डिपबोरिङ जोेडेपछि निकै सहज भएको छ ।” एकपटक खेत रोपेपछि आफ्नो गाउँ मरुभूमिजस्तो हुने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

पाँच कठ्ठा जमिनमा मकै लगाउनुभएकी सोही ठाउँकी कमला ढकाल विगतमा बाँझै हुने जमिनमा मकै फलेको देख्दा आफैँ दङ्ग हुनुहुन्छ । “अहिले तोरी पनि राम्रो भयो”, ढकालले भन्नुभयो, “मकै यति राम्रा भएका छन् ।” बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उहाँले बताउनुभयो ।

भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महतोले आफ्नो वडाका सुक्खा ठाउँ अहिले हराभरा भएको बताउनुभयो । “यहाँ किसानले खेती लगाएपछि मात्र पानी आउथ्यो । यहाँका किसानले जेनतेन धानखेती गर्थे । अहिले मकै र तरकारी हराभरा छ । कृषिको आधार प्रविधि भन्ने कुरा भूमिगत जल सिँचाइले पुष्टि गरेको छ”, उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको बताएको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । “भूमिगत सिँचाइ, महानगर, कृषि ज्ञान केन्द्र चितवनबाट चितवनका सिँचाइका कार्यक्रम अगाडि बढेका छन्”, उहाँले भन्नुभयो, “भरतपुरमा सिँचाइमा कृषिक्रान्ति नै भएको छ ।” अबको चार वर्षभित्र महानगरपालिकाभित्रका सबै जमिनमा सिँचाइ पुग्ने उहाँले बताउनुभयो । भरतपुरमा नौ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकामा हालसम्म दुई हजार एक सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री