शुक्रबार, ७ वैशाख २०८१

जन्म दिनको उपहार: एउटा किताब

समयपोष्ट २०८० वैशाख २५ गते १४:०५

Advertisement

चन्द्रागिरि नगरपालिका– ११ स्थित सामुदायिक विद्यालय विष्णुदेवी शिक्षा सदनले विद्यार्थीको जन्मदिन मनाउने नयाँ शैली अपनाएको छ । आफ्नो जन्मदिनका अवसरमा हरेक शिक्षक तथा विद्यार्थीले कम्तीमा एउटा किताब विद्यालयको पुस्तकालयमा उपलब्ध गराउनुपर्ने भएको छ । आइतबार सम्पन्न विद्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा प्रारम्भ गरिएको किताब उपहारको सुरुवात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर महर्जनले गर्नुभएको थियो ।

सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका उहाँले तिथिअनुसार आइतबार आफ्नो जन्म दिवस परेको भन्दै स्थास्थ्यसम्बन्धी एक पुस्तक विद्यालयका प्रधानाध्यापक वसन्तराज खत्रीलाई हस्तान्तरण गर्नुभयो । रासससँगको कुराकानीमा प्रधानाध्यापक खत्रीले पठन संस्कृतिलाई बढवा दिन र जन्मोत्सवलाई कुनै एक राम्रो कामका रुपमा लिने बानी विद्यार्थीमा बस्दै जाओस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

उक्त विद्यालयले करिब पाँच वर्षअघि रु तीन लाख सरकारी अनुदानको भरमा पुस्तकालय स्थापना गरेको थियो । पुस्तकालयमा विभिन्न विषयका सात हजारभन्दा बढी पुस्तक छन् ।
विद्यालयले विद्यार्थीलाई पुस्तकालयको उपयोग गर्ने बानी लगाउन केही वर्ष अघिदेखि विभिन्न प्रयास गर्दे आएको छ । यसैक्रममा केही वर्षअघि कक्षगत तालिकामै पुस्तकालय भ्रमण राखिएकामा त्यसले नियमित अध्ययनमा अवरोध आएकाले अहिले कुनै पनि पिरियड खाली हुनासाथ पुस्तकालयमा जाने चलन चलाइएको पनि उहाँले बताउनभयो ।

जन्म दिवसका अवसरमा विद्यालय पुग्नुभएका काठमाडौँं क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजेन्दकुमार केसी, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र प्रदेशसभा सदस्य रमा आलेमगरले पुस्तक दिने प्रचलन अत्यन्त सिर्जनात्मक रहेको धारणा व्यक्त गर्नुभएको थियो । सतुङ्गलवासीको पहलमा स्थापित उक्त विद्यालयमा अहिले करिब नौ सय विद्यार्थी छन् तर नगन्य सङ्ख्याका स्थानीयवासीले मात्र आफ्ना सन्तानलाई त्यहाँ पढाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री