शुक्रबार, १६ चैत २०८०

कांग्रेसका धेरै प्रमुख, धेरै सिट

पत्रपत्रिका २०७९ जेठ १४ गते ७:०५

Advertisement

स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान निश्चित भइसकेको छैन ।

स्थानीय निर्वाचनलाई लक्षित गरी तथ्याङ्क अद्यावधिक गर्न तथा सुरक्षालगायत अन्य व्यवस्थापकीय कार्यका लागि निर्वाचन आयोगबाट कार्यसम्पादन हुने गरी गठन गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले आफ्नो गतिविधिसमेत स्थगित गरेको छ । तथ्याङ्क सङ्कलनको कार्य भने अब आयोगको सूचना केन्द्रले गर्नेछ ।

कांग्रेस ठूलो दल

निर्वाचन आयोगको मतपरिणाम बमोजिम स्थानीय तहमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको छ । नेपाली कांग्रेसले ३२८ स्थानीय तहमा प्रमुख-अध्यक्ष पद जितेको छ । यो २०७४ को निर्वाचनमा जितेभन्दा ६२ पद बढी हो । सत्तागठबन्धनले भने ५०३ स्थानीय तहको प्रमुख÷अध्यक्ष पद जितेको छ । गठबन्धनका पाँच दलले करिब ६२ प्रतिशत स्थानीय तहका प्रमुख पद जितेका छन् । जसअनुसार नेकपा (माओवादी केन्द्र) ले १२१, जनता समाजवादी पार्टी नेपालले ३० तथा नेकपा (एकीकृत समाजवादी) ले २० स्थानीय तहको प्रमुख वा अध्यक्ष पद जितेका छन् । राष्ट्रिय जनमोर्चाले चार स्थानीय तहको प्रमुख-अध्यक्ष पद जितेको छ ।

माओवादी केन्द्रले २०७४ भन्दा १५ प्रमुख-अध्यक्ष पद थपेको छ भने तत्कालीन सङ्घीय समाजवादी फोरमले चार र राष्ट्रिय जनता पार्टी नेपालले नौ स्थानीय तह गुमाएका छन् । २०७४ को निर्वाचनबाट स्थानीय तहमा पहिलो दल बनेको नेकपा (एमाले) ले भने यसपटक २०५ प्रमुख-अध्यक्ष पद पाएको छ । उसले २०७४ भन्दा ८९ प्रमुख-अध्यक्ष पद गुमाएको हो । नेकपा (एमाले) विभाजनको असर स्थानीय तहको निर्वाचनमा स्पष्ट देखिएको छ । यद्यपि एमाले दोस्रो ठूलो दलको हैसियतमा रहनेछ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री