शनिबार, ८ वैशाख २०८१

शिक्षकबाटै असुरक्षित छात्रा, विद्यालयमै मिलाइन्छन् यौन हिंसाका घटना

पत्रपत्रिका २०७९ जेठ १४ गते ६:५८

Advertisement

गत चैत ६ गते मोरङको लेटाङमा भएको घटना त सबैलाई ताजै होला । आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा लेटाङमा एक प्रहरी जवानले ज्यान गुमाउन पुगिन् ।

यौन दुर्व्यवहारका आरोपितलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि उत्तेजित भीडले आक्रमण गरेको थियो । आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो ।

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका मोरङको लेटाङ नगरपालिका-५, खेरुवाको शिक्षा विकास माविका शिक्षक मनोज पौडेललाई ६ चैतमा पक्राउ गर्न जाँदा पहिल्यैदेखि प्रदर्शन गरिरहेको आक्रोशित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो ।

कक्षा ६, ७ र ८ लाई सामाजिक र नैतिक शिक्षा पढाउने पौडेलले २०७३ सालयता गरेका तीनवटा यौन दुर्व्यवहारको घटनालाई मिलापत्रबाट सामसुम पारिएको थियो । पटक पटक छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बचाउन खोजेको भन्दै आक्रोशित भीडले प्रहरीमाथि नै आक्रमण गरेको थियो ।

उक्त घटनापछि विद्यालयमा शिक्षकहरूबाट छात्रामाथि हुने यौन हिंसाका घटनाले चर्चा पायो । एकपछि अर्को घटना सार्वजिनक हुन थाल्यो । जुन अहिले मात्र भने होइन । छात्राहरूले शिक्षकहरूबाट यस्ता खालका दुर्व्यवहार सहँदै आएका छन् ।

केही प्रतिनिधि घटनाको रूपमा मात्र बाहिर आउने गरेको पाइन्छ । नत्र आफ्नो पढाइ बिग्रिने, घर-परिवार, समाज आदिको डरका कारण छात्राहरू जस्तो खालको हिंसा पनि सहँदै आएका हुन्छन् ।

पाँच वर्षअघि कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राज खड्का पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले बिहिबार टोखा नगरपालिका बानियाँटारस्थित उनकै डेराबाट पक्राउ गरेको हो ।

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कूलका तत्कालिन प्रिन्सिपल खड्काले कक्षा ९ मा अध्ययनरत छात्रालाई २६ साउन २०७४ मा पहिलोपटक बलात्कार गरेकाे आराेप लागेकाे छ । उपचारका लागि अस्पताल लैजाने बहानामा होटलमा लगेर छात्रामाथि बलात्कार गरेकाे प्रहरीकाे भनाइ छ । पछि स्कुलबाट रेष्टिकेट गरिदिने, अश्लील भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिएर पटकपटक बलात्कार गर्दै आएकाे पीडितले बताएकी छन् ।

मानसिक र शारीरिक तनाव दिँदै पटक-पटक जबर्जस्ती करणी गर्ने उनीविरुद्ध पीडित छात्राले २ भदौ २०७५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा खड्काविरुद्ध जाहेरी दिएकी थिइन् । तर, प्रहरीले भने खड्कालाई पक्राउ गर्न सकेको थिएन । अहिले भने चौतर्फी बलात्कारका घटनाले चर्चा पाइरहेका बेला सक्रिय बनेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजका छात्रामाथि शिक्षकबाटै बलात्कार भएको घटनाले समग्र विद्यालय क्षेत्रमा चर्चा छ । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ । सोही आरोपमा प्रहरीले अधिकारी र पौडेललाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई पाँच दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ ।

उनीहरूले आफूहरूसँग नजिक भए कलेजको शुल्क तिर्नुनपर्ने भन्दै प्रलोभन देखाएको विद्यार्थीहरूको आरोप छ । यतिसम्म कि उनीहरूले बेड पार्टनर बन्न म्यासेस पनि गर्ने गरेको थिए । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री