शुक्रबार, ७ वैशाख २०८१

भोजपुरको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न, कसले कहाँ जित्यो ?

समयपोष्ट २०७९ जेठ ४ गते १४:१४

Advertisement

भोजपुर जिल्लाको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

यहाँ एमाले र कांग्रेसले तीन÷तीन, नेकपा (माओवादी केन्द्र) दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिकामा एमालेले, भोजपुर नगरपालिका, अरुण र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसले जित हासिल गरेको छ । आमचोक र रामप्रसाद राई गाउँपालिकामा माओवादीले जित हासिल गरेको छ ।

आमचोकमा माओवादी एक्लै लडेको हो, भने रामप्रसाद राईमा कांग्रेस माओवादीले गठबन्धन गरेका थिए । साल्पासिलिछो गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका दौलथ कुलुङ विजयी हुनुभएको हो । भोजपुरमा कांग्रेसबाट मेयरमा कैलाशकुमार आले पाँच हजार ६१५ मत प्राप्त विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका तामाङले पाँच हजार १०० मत ल्याउनुभएको थियो ।

त्यस्तै उपमेयरमा एमालेकी निर्मला शेर्पा विजयी बन्नुभएको छ । उहाँले रुख चिह्नबाट उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)की ममिता राईलाई पाँच हजार ५०० पराजित गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी राईले पाँच हजार १३३ मत प्राप्त गर्नुभयो । षडानन्द नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै एमालेका सुरेन्द्र कुमार उदास विजयी बन्नुभएको छ । उहाँले छ हजार ७७२ मत ल्याउनुभयो भने गठबन्धनका उम्मेदवार कांग्रेसका बिरवल राईले पाँच हजार ७५७ मत ल्याएर पराजित हुनुभयो । उपमेयरमा सत्तारुढ गठबन्धनकी माओवादी उम्मेदवार प्रमिला राई विजयी बन्नुभयो । उहाँले सात हजार २५७ मत ल्याएर विजयी बन्नुभएको हो । उहाँकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मेरीका राईले चार हजार ३५८ मत प्राप्त गर्नुभयो ।

पौवादुङमा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष दुवै पद एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी बन्नुभयो । उहाँले दुई हजार ४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ले एक हजार ६८८ मत र कांगेसका टेक नरसिं कार्कीले एक हजार ३७१ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै ज्योत्सना राई दुई हजार ४०६ मत ल्याएर विजयी बन्नुभयो भने उहाँकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ र कांग्रेसकी रामकुमारी राईले एक हजार ३८७ मत प्राप्त गर्नुभयो ।

हतुवागढीमा एमालेका प्रेमकुमार राई विजयी बन्नुभयो । उहाँले गठबन्धनका उम्मेदवार कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित बन्नुभएको हो । उहाँले कांग्रेसका कार्कीलाई अध्यक्ष पदमा ६८९ मतले हराउनुभयो । राईले चार हजार ४२ मत पाउनुभयो भने कार्की तीन हजार ३५३ मत ल्याएर पराजित हुनुभयो । उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीकी सुनिता किराती तीन हजार ७०७ मत विजयी बन्नुभयो । राईकी निकटतम प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ६११ मत ल्याएर पराजित हुनुभयो ।

टेम्केमैयुङमा अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सरोज बस्नेत विजयी बन्नुभयो । उहाँले तीन हजार ९८० मत ल्याएर विजयी बन्नुभयो भने एमालेका ध्रुवराज राई तीन हजार २८८ मत ल्याएर पराजित हुनुभयो । उपाध्यक्षमा एमालेकी रमादेवी राई विजयी बन्नुभयो । राईले तीन हजार ३८८ मत ल्याउनुभयो, भने उहाँकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीकी इन्द्रवती राई तीन हजार २९८ मत ल्याएर पराजित बन्नुभयो ।

अरुणमा काङ्ग्रेसले जित हासिल गरेको छ । यहाँ अध्यक्षमा दुई हजार ८८७ मत ल्याएर शालिकराम खत्री र तीन हजार मत ल्याएर उपाध्यक्षमा वितिना ढकाल विजयी बन्नुभएको छ । खत्रीका निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण घिमिरेले दुई हजार ४२४ मत ल्याउनुभयो । उपाध्यक्षकी प्रत्यासी कविता राईले दुई हजार ५४४ मत ल्याउनुभयो ।

रामप्रसाद राईमा अध्यक्षमा गठबन्धनका साझ उम्मेदवार माओवादीका थामबहादुर राई तीन हजार ७० मत ल्याएर विजयी बन्नुभएको हो । राईका निकटतम प्रतिद्वन्द्वी एमालेका बलराम राई दुई हजार ८५१ मत ल्याएर पराजित बन्नुभयो । उपाध्यक्षमा कांग्रेसका वीरेन्द्र राई तीन हजार ५७७ मत ल्याएर विजयी बन्नुभयो भने उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला राईले दुई हजार २१४ मत ल्याउनुभयो ।

आमचोकमा माओवादीले जित हासिल गरेको छ । यहाँ अध्यक्षमा तीन हजार ६८६ मत ल्याएर अशोक राई विजयी बन्नुभयो भने एमालेका वसन्त राईले तीन हजार २५८ मत ल्याउनुभयो । उपाध्यक्षमा सीता राई तीन हजार ५६१ मत ल्याएर विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी छिरिङ शेर्पाले तीन हजार २४४ मत ल्याउनुभयो ।

साल्पाछिलिछोमा स्वतन्त्र उम्मेदवार विजयी बन्नुभएको छ । यहाँ एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका दौलथ राई एक हजार ८२४ मत ल्याएर विजयी बन्नुभयो । यहाँ एमालेका शान्तिबहादुर अधिकारीले तीन हजार ३८३ र कांग्रेसका महेश राईले तीन हजार ८६२ मत ल्याउनुभयो ।

उपाध्यक्षमा कांग्रेसकी अस्मिता राई एक हजार ८६२ मत ल्याएर विजयी बन्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी रिता घलेले एक हजार ३९५ मत ल्याउनुभयो । जिल्लामा ८१ ओटा वडामध्ये सबैभन्दा धेरै ३२ एमाले, २८ कांग्रेस, माओवादी १८, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक÷एक र एउटा वडा स्वतन्त्रले जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री