सोमबार, १३ असार २०७९

यसरी सुस्तायो घरजग्गा कारोबार, संकट अझै गहिरिने संकेत

समयपोष्ट २०७९ जेठ ४ गते ९:२३

Advertisement

नयाँ वर्ष २०७८ को आगमनसंगै घरजग्गा व्यवसाय सुस्ताएको छ । चैत महिनामा उत्साह देखिएको घरजग्गा कारोबार बैशाखमा भने सुस्ताएको हो । चैत महिनामा ७० हजार ८२९ वटा कारोबार भएको घरजग्गा कारोबार बैशाखमा भने ४४ हजार वटामा सीमित भएको छ ।

तरलता अभावका कारण बैंकहरुले घरजग्गामा लगानी गर्न छाडेपछि बैशाखमा घरजग्गामा काराेबार सुस्ताएको हो । बैशाख महिनामा मालपोत कार्यालयबाट ४४ हजार ८०३ लिखत पारित हुँदा ३ हजार २०३ नामसारी भएको छ भने २ हजार ५१३ संशोधन, २३ हजार ३३५ रोक्का, १५ हजार १३१ फुकुवा र १३ सय ५१ दाखिला खारेज गरेको विभागले जनाएको छ।

गत फागुनमा पनि घरजग्गा कारोबारमा साउनयताकै रेकर्ड बनेको थियो। माघ महिनासम्म सुस्ताएको घरजग्गा कारोबार फागुन र चैत दुवै महिना चम्किएको थियो। बैंकहरूले ऋण लगानी नगर्दा पनि फागुन र चैतमा घरजग्गा कारोबार बढेको थियो।

विभागले दिएको तथ्यांकअनुसार फागुनमा ७४ हजार ३६ घरजग्गा किनबेच भएको थियो। माघ महिनामा जम्मा ५९ हजार ५ सय १६ वटा मात्रै घरजग्गा किनबेच भएको थियो।

Advertisement

यसअघि कात्तिकमा ५० हजार घरजग्गा किनबेच भएको थियो। पुस महिनामा ७० हजार १ सय ६८ घरजग्गा किनबेच भएको थियो। बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गा कारोबारमा मन्दी आएको थियो।

बैशाख महिनामा सबैभन्दा बढी इनरुवा सुनसरीबाट भएको छ। इनरुवा मालपोत कार्यालयबाट बैशाख महिनामा मात्रै २ हजार ६४ घरजग्गा किनबेच भएको छ। त्यस्तै, बेलबारी मोरङबाट १८ सय ८९, भद्रपुर झापाबाट १७ सय २०, जनकपुरधाम धनुषामा १५ सय ३६, ललितपुर लगनखेलबाट १४ सय ३१ र नेपालगञ्जबाट १३ सय ७९, भक्तपुरबाट १३ सय १६ र चितवनबाट ११ सय ३५ घरजग्गा किनबेच भएको छ।

चैत महीनामा सबैभन्दा बढी कित्ताकाट झापाको दमकमा भएको थियो। झापामा ३ हजार ५० साविकका कित्ताहरु काटेर ६ हजार २९१ नयाँ कित्ता कायम भएका छन्। पूर्वकै इटहरीमा ७ हजार २९६ नयाँ कित्ता कायम भएको थियो। धेरै कित्ताकाट हुनेमा बेलबारी मोरङ रहेको छ। बेलबारीमा साविकका २ हजार २३७ कित्ता जग्गा टुक्र्याएर ५ हजार ७७७ नयाँ कित्ता कायम गरिएको थियो।

बैशाख महिनामा ४४ हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदा उपत्यकामा ६ हजार १०९ घरजग्गा किनबेच भएको छ। चैत महिनामा उपत्यकामा ८ हजार ८५३, फागुनमा ५५ सय ३६ घरजग्गा किनबेच भएको थियो । बैशाख महिनामा विभागले देशभरबाट पौने ५ अर्ब बढी राजस्व संकलन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री