बिहीबार, १३ वैशाख २०८१

अनलाईन क्लासबाट विद्यार्थीले पाएको ज्ञान व्यवहारमा प्रयोग गर्नबाट बञ्चित भए

समयपोष्ट २०७८ जेठ ४ गते ९:५५

Advertisement

गीता राणा, संस्थापक प्रिन्सिपल,ग्यालेक्सी पब्लिक स्कुल

कोभिड–१९ ले शिक्षण संस्थालाई कस्तो प्रभाव पार्यो ?
कोभिड–१९ ले शैक्षिक क्षेत्रलाई अस्तव्यस्त नै बनायो । विद्यालय भन्नेबित्तिक्कै त्यसको एउटा पक्षमात्र हुँदैन । विद्यालयमा विद्यार्थीहरुलाई क्षमता विकास गर्न विभिन्न कुराहरु सिकाइन्छ । बालबालिकालाई कसरी सामाजिक बनाउने, अनुशासन, नैतिक शिक्षा, खेलकुदलगायतका धेरै कुराहरु हुन्छन्, जुन बालबालिकाले विद्यालय गएर सिक्छन् । तर, यो महामारीले गर्दा हामी अनलाईन कक्षाहरु सञ्चालन गर्न बाध्य भयौं । त्यसको मुख्य उद्देश्य बालबालिकालाई ज्ञान दिनेमात्र भयो । अन्य पक्षहरु सबै छुटे । त्यसले आगामी दिनमा बालबालिकालाई पक्कै असर गर्छ । हामीले त्यसको असर बालबालिकामा कम परोस् भन्नका लागि त्यहीअनुसारका योजना र क्यालेण्डरहरु बनाइरहेका छौं ।

कोभिडका कारण धेरैको आम्दानी कम भयो, कसैको रोजगारी नै गुम्यो । तपाईंहरुले महामारीको समयमा विद्यार्थीहरुलाई कस्तो सहुलियत दिनुभयो ?

एकातिर बालबालिकाको पठनपाठनको कुरा आयो । अर्कोतिर शिक्षक कर्मचारीहरुको तलब, सेवा–सुविधाका कुराहरु पनि जोडिए । अभिभावकहरुको व्यवसाय बन्द हुँदा उहाँहरुलाई पनि शुल्क तिर्न अप्ठ्यारो परेको अवस्था थियो । हामीले त्यस अवस्थामा सबै पक्षलाई सुविधा पुग्ने गरी निर्णय लियौँ । वैशाख र जेठको मासिक शुल्क मिनाहा गर्यौं । असारबाट माघ महिनासम्म मात्र ६० प्रतिशत शुल्क लियौं । शिक्षक–कर्मचारीहरुलाई ७० प्रतिशत तलब दिएर बाँकी रकम पछि तिर्ने हिसाबले मिलायौं ।

अनलाईन कक्षाका सकारात्मक–नकारात्मक कस्ता अनुभव कस्ता छन् ?
अहिलेको जमानामा सूचना–प्रविधिले निकै नै महत्व राख्छ । कुनै बेला एकदम अङ्ग्रेजी सिकाउनुपर्ने, कहिले कम्प्युटर सिकाउनुपर्ने थियो । यी दुवै सूचना–प्रविधिसँग सम्बन्धित भएको हुँदा सिकाउने कसरी भन्नेमा अन्योलता थियो । कोभिड–१९ को एउटा सकारात्मक पाटो भनेको विद्यालयले यस क्षेत्रमा ठूलै उचाई लिए । विद्यार्थीहरु इन्टरनेट चलाउन, गुगल सर्च गर्न पोख्त भए । हाम्रा विद्यार्थीहरु अन्तर्राष्ट्रियस्तरका विद्यार्थीहरुसँग सूचना–प्रविधिमा सायद सँगसँगै जान्छन् । अब त भविष्य भनेकै सूचना–प्रविधि हो ।

यति हुँदा हुँदै पनि बालबालिकाको प्रत्यक्ष उपस्थितिमा कक्षा सञ्चालन नहुँदा बालबालिकाहरु सामाजिकरुपमा घुलमिल हुन पाएनन् । धान कस्तो हुन्छ भनेर स्क्रिनमा देख्ने तर त्यसलाई प्रत्यक्ष रुपमा छुन, खेतमा जान नपाउने अवस्था बन्यो । विद्यार्थीले जति ज्ञान पाए त्यो व्यवहारमा प्रयोग गर्नबाट बञ्चित भए । साइन्सकै कुरा गर्दा सैद्धान्तिक ज्ञानमात्र भयो तर ल्याबमै गएर प्रयोगात्मक कक्षा लिन विद्यार्थीहरुले पाएनन् ।

अनलाईन क्लासमा बस्दा बालबालिकाहरु अनुशासनमा बसेनन् । अभिभावकहरु आफ्नो काममा जानुपर्ने बाध्यता थियो भने स्कुलले पनि विद्यार्थीमाथि नजर राख्न सकेनन् । जो पढ्ने विद्यार्थी थियो, उसका लागि अनलाईन क्लास फलदायी नै भयो तर जसलाई स्कुलभित्रकै अनुशासनमा राखेर पढाउनुपर्ने थियो, त्यो भएन । कतिपय बच्चाहरु भिडियो अफ गरेर गेम खेल्ने, अन्य भिडियो हेर्नेतिर पनि लागे । यसको नतिजा यसपालीको एसईई परीक्षामा पनि देखिन्छ होला । हाम्रो देशका आफ्नै मूल्य–मान्यताहरु छन् । त्यसबाट बालबालिकाहरु अलि पर गएजस्तो अनुभूति भएको छ । जति रचनात्मक कुराहरुमा बालबालिकाहरु अघि बढ्नुपर्ने थियो, त्यो नभएको पनि मैले अनुभव गरेकी छु ।

कोभिडका कारण साना लगानीका स्कुलहरु बन्द हुने अवस्थामा छन् । त्यस्ता विद्यालयहरुलाई बचाउन तपाईंहरुले के गर्नुपर्छ ?

कोभिडले सबै विद्यालयहरुमा असर गरेको छ । भौतिक संरचनाका भाडादेखि शिक्षक–कर्मचारीहरुलाई तलब दिनुपर्ने हुँदा समस्या ठूला स्कुलहरुलाई पनि पर्यो । ठूला स्कुलहरु धेरैले बैङ्कबाट ऋण लिएका छन् । भोलिका दिनमा ऋण तिर्न नसक्दा तीे पनि बन्द हुने अवस्थामा पुग्छन् । साना स्कुलमा एक त विद्यार्थी कम हुने भए, उनीहरुले अनलाईन क्लास पनि लिन सकेनन् । मासिक शुल्क पनि उठेन । आर्थिक सङ्कट र विद्यार्थी नहुँदा साना विद्यालयहरु बन्द हुने अवस्थामा रहे । यस्तो विपदको समयमा सरकारले पनि सहयोग गर्नुपर्छ । अहिले निजी विद्यालयहरुले झण्डै ३० प्रतिशत विद्यार्थीहरुलाई पढाइरहेका छन् । उनीहरुले दिएको गुणस्तरका बारेमा पनि दुईमत कसैलाई छैन । विदेशिने रकमहरु ती स्कुलले जोगाइदिएका छन् । अहिले विद्यालयहरुमा आर्थिक समस्या आइरहँदा सरकारले सहयोग गर्नुपर्ने हो । सङ्गठनले त खाली सुझावमात्र दिने हो ।

सरकारले कस्तो खालको सहयोग गर्नुपर्छ ?
सरकारले सबैलाई पैसा बाँडेर सक्दैन । कम्तीमा पनि ऋण सहुलियत दिए धेरै हुन्थ्यो । सरकारले अत्यन्त प्रभावित क्षेत्रमा स्कुललाई ‘बी’मा राखिदियो । सार्वजनिक स्कुलहरुलाई यसले असर गरेन तर निजी विद्यालयलाई यसले असर पारेको छ । सरकारले दिने भनेको ५ प्रतिशतवाला जुन कर्जा सुविधा छ, त्यो स्कुलहरुले पनि पाउनुपर्छ । त्यसमा सरकारले नै केही ग्यारेण्टी दिएर जस्तो– लाइसेन्स नै हुन सक्छ किनभने स्कुलसँग धितो राख्ने आफ्नो केही छैन, त्यसरी कर्जा निकासा गरिदियो भने स्कुलहरुलाई सहयोग हुन्छ । सङ्गठनले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज गर्न सुझाव दिएको छ । त्यसले पनि केही समस्या हल होला ।

ग्यालेक्सी पब्लिक स्कुलको अवस्था कस्तो छ ?
जबसम्म हाम्रा देशका बालबालिका ज्ञान, सीपमा सशक्त हुँदैनन्, तबसम्म देशको भविष्य हुँदैन । यी कसैका छोराछोरी होलान् तर यी भनेका देशका सम्पत्ति हुन् । यी हाम्रा जग हुन् । कसैले आफ्नो जग बिगार्ने कोशिस गर्दैन । त्यही हिसाबमा बालबालिकालाई कसरी भविष्यका लागि मजबुत बनाउने भनेर हामीले योजना बनाएर अगाडि बढिरहेका छौँ । समयबोध पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री