जहाँ आकाशमा यसरी रकेट जुध्छन्

दोहोरो क्षेप्यास्त्र आक्रमणले संसारकै ध्यान खिचेको इजरायलको तेल अभिव सहरबाट अहिले म यो अनुभूति लेखिरहेकी छु। प्यालेस्टाइनतर्फबाट हानिने रकेट लञ्चरले कतिबेला क–कसलाई उडाउने हो भन्ने त्रास छ यहाँ। जब सरकारी साइरन बज्छ, बंकरतर्फ दगुर्नुपर्छ।

Advertisement

यो लेख्ने क्रममा पटक–पटक बंकरभित्र छिर्नु परेको छ। फर्किएर आई आतंकित वातावरणमा किस्ता–किस्तामा यसलाई पूरा गरेकी छु।

मध्यपूर्वको सुन्दर टापु इजरायल यतिबेला युद्धग्रस्त छ। जनजीवन भयभित छ। मे १० सोमबार सुरु भएको वर्षौंयताकै हिंसात्मक द्वन्द्व झन्पछि झन् बढ्दो स्थितिमा छ। जसले गर्दा असुरक्षित महसुस भइरहेको छ।

तर, इजरायल सरकारको सूचना र सुरक्षा प्रबन्ध मजबुत छ। नेपालका सम्पूर्ण शुभचिन्तक र आफन्तहरूलाई मेरो आग्रह छ– यो पढेर चिन्ता भने नलिनु होला। सकेसम्म हामी आफ्नो सुरक्षाको ख्याल राख्ने नै छौं।

सधैंजसो युद्ध झेलिरहेको इजरायलले सन् २०११ मा आइरन डोम विकास गरेको छ। यो यस्तो प्रविधि हो, जसको राडारले आफ्नो इलाकामा कुनै घातक मिसाइल वा बम–बारुद प्रवेश गर्न लागेको सूचना पाउँछ। प्रभावित हुन सक्ने इलाकामा साइरनको माध्यमबाट तत्काल सूचित गर्छ। र, अर्कातिरबाट आएका मिसाइल आकाशमै रोकी ध्वस्त पार्न छुट्टै विशेष प्रकारको हतियार पठाउँछ।

Advertisement

सुरक्षित स्थान सेल्टर रुममा जाने संकेत र साइरन युद्ध सुरु भएयता ६ हजारभन्दा बढी पटक बजिसकेको छ। साइरन बजेको नब्बे सेकेन्डभित्र सेल्टर रुम (बंकर) मा पुगिसक्नुपर्छ। यहाँका हरेक घरमा बीचमा वा हरेक फ्ल्याटमै व्यवस्थित तरिकाले सेल्टर निर्माण गरिएको हुन्छ। त्यो इलाका जस्तै गोलाबारुदबाट जोगाउने गरी सुरक्षित हुन्छ। यो यस्तो बंकर हो, जसलाई जीवन रक्षा कवचभन्दा फरक पर्दैन।

सहरमाथि जब बम एयर डिफेन्सले निस्क्रिय गर्छ, ठूलो आवाजले घरहरू थर्किन्छन्। त्यससँगै बंकरभित्र बसेका हाम्रो मुटु उसैगरी उफ्रन्छ। दिमाग शून्य हुन्छ। क्षणभरलाई परिवार र आफन्तका तस्बिरहरू फनफनी घुम्छन्। मनमनै ईश्वर पुकार्छौं।

बमको एक चोइटाले मात्रै छोए ‘अइया आमा’ भन्न पाइन्न। कथंकदाचित घरबाहिर परे हालत के हुन्छ, भन्न सकिन्न। विशेषगरी सीमा क्षेत्रमा काम गर्नेहरूलाई बढी तनाव हुन्छ। समाचारहरूमा हेर्न जति सजिलो छ, यहीं रही प्रत्यक्ष भोग्नु धेरै गुना फरक छ।

प्यालेस्टाइनतर्फबाट हुने सबैजसो रकेट आक्रमण यसरी आकाशमै नष्ट गर्न इजरायल सफल हुँदै आएको छ। सोमबार अपराहन्न भने हामी बसेको तेल अभिव सहरमा गाजातर्फबाट आएको शक्तिशाली बम खसेको छ। त्यसले एउटा भवनलाई क्षति पुर्‍याएको छ। त्यसले मानवीय क्षति भने भएन।

इजरायलमा नेपाली
वैदेशिक रोजगारका लागि मध्यपूर्वको इजरायल निकै सुरक्षित र आकर्षक देश हो। विभिन्न बाध्यता परिस्थितिवस यहाँ आइपुगेका नेपाली श्रमिकहरू यतिबेला करिब १८ देखि १९ सयको हाराहारी रहेको अनुमान छ। ६ सयको हाराहारीमा विद्यार्थी, कृषिलगायत विषय अध्ययनका सिलसिलाम यहाँ रहेको तेल अभिवस्थित नेपाली राजदूतावासले जनाएको छ।

अहिलेको यो विषम परिस्थितिमा अरूलाई झैं हामीलाई पनि मानसिक तनाव भएको छ। नेपाली दूतावासले सूचना जारी गरी सबै नेपालीलाई सचेत रहन आह्वान गर्दै आएको छ। कुनै पनि अवस्थामा समस्या परे राजदूतावासमा सम्पर्क गर्न पनि भनेको छ। शनिबार सहरमा सर्वत्र आक्रमण भयो। रमातगान भन्ने सहरमा करिब ५२ वर्षका एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो।

इजरायलमा सुरक्षा, पाउने सुविधा, स्वास्थ्यबिमालगायत अन्य थुप्रै कुरा छन्। जसले रोजगारका निम्ति आकर्षित गर्छ। यहाँ तर जब¬–जब यस्ता द्वन्द्व चर्कन्छन्, तब–तब बेकार आइयो भन्ने पनि लाग्छ। चिन्ता अवश्यै हुन्छ। तनावको झिल्कोले छुन्छ–छुन्छ।

यहाँका विद्यालय, कलेजहरू बन्द छन्। सुपरमार्केटहरू भने खुला छन्। किनमेल गर्न मनभरि त्रास लिएर निस्कनुपर्छ। हरेकको मुहारमा डर झल्किन्छ। आँखामा अनौठो अशान्ति देखिन्छ। तनावबीच बाँचेका कैयौं वृद्ध–वृद्धा सेल्टर रुममै सुत्न बाध्य छन्। गएको साता आफ्ना रोजगारदातालाई साथ लिई सेल्टर रुम पुग्न ढिला हुँदा एक भारतीय कामदार महिलाको मृत्यु भयो। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा सुनिता राई कन्दङ्वाले लेखेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री