उपचार पाउन यस्तो महाभारत

मुलुकभर दैनिक ९ हजार हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिइरहेका छन्। पछिल्लो २४ घण्टामा बुधबार ९ हजार ३ सय ५ जनामा कोरोना पुष्टि भएको छ। जति संक्रमित बढ्दै छन् उति अस्पतालहरूमा बेड पाउन ‘महाभारत’ भइरहेको छ। बिरामीहरूले अक्सिजनको चर्को अभाव झेलिरहेका छन्। आईसीयू र भेन्टिलेटर सेवा सहज रूपमा पाउन सक्ने अवस्था छैन। कतिपय अस्पतालमा भेन्टिलेटर भए पनि जनशक्ति अभावमा प्रयोगविहीन छन्।

Advertisement

कोरोना संक्रमितको उपचार गरिँदै आएको देशकै मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बेड अभाव भएको छ। जहाँ अस्पतालको पेटीमा राखेर उपचार गर्न थालिएको छ। चितवन, विराटनगर, बुटवल, धनगढीलगायत ठूला सहरका अस्पतालहरूमा बिरामीले बेड पाउन मुस्किल छ। स्थिति यति भयावह छ कि कोही बिरामी निको भए या मृत्यु भए मात्रै अर्कोले पालो पाउँछन्।

बुटवल र भैरहवामा त बुधबार अक्सिजन आपूर्ति रोकिँदा आठ जनाले ज्यान गुमाएका छन्। आईसीयूको प्रतीक्षा गर्दागर्दै ६ जनाले मृत्युवरण गरेका छन्।  बुटवलको कोरोना विशेष अस्पताल धागो कारखानामा सञ्चालित छ। लुम्बिनी प्रादेशिक अस्पतालको व्यवस्थापनमा रहेको यो अस्पतालमा ५२ बिरामी अक्सिजनको सहारामा उपचाररत छन्। यस्तै, इमर्जेन्सीमा ३८ र फिभर क्लिनिकमा सात जनालाई अक्सिजन दिइएको छ। यहाँ दैनिक ५ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ। तर, त्यति नै मात्रामा अहिलेसम्म उपलब्ध हुन सकेको छैन।

अस्पताल प्रशासनले सरोकारवाला निकायमा भनेको थियो– ‘बुधबार बिहानै अक्सिजन सकिँदै छ।’ तर, आउनुपर्ने अक्सिजन समयमा आइपुगेन। दिउँसो एकाएक अक्सिजन सकियो। अक्सिजन आपूर्ति आधा घण्टा रोकियो। बिरामीहरू छटपटाउन थाले।

‘अक्सिजन–अक्सिजन भन्दै बिरामी चिच्याए। तर, अक्सिजन आएन’, अस्पतालमा रहेका एक बिरामीका आफन्तले भने। अक्सिजन रोकिएपछि पाँच जना बिरामीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। ‘अक्सिजन सकियो, आधा घण्टा दिन सकेनौं। उहाँहरूको मृत्यु भयो’, डा. गौतमले भने। त्यसलगत्तै अक्सिजन आएपछि भने अवस्था केही सहज बनेको छ।

Advertisement

मृतकमध्ये बुटवल उपमहानगरपालिकाका चार जना छन्। जसमा २९, ५२, ५२ वर्षीय पुरुष र ५९ वर्षीया महिला छन्। अर्का मृतक नवलपरासी बर्दघाटका ४४ वर्षीय पुरुष हुन्।
‘हामीले बिरामीलाई अक्सिजन पुर्‍याउनै सकेनौं’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले भने। रातभर अक्सिजन खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको डा. खनालले बताए।
प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र फिभर क्लिनिकमा मंगलबार राति र बुधबार बिहान ६ जनाले ज्यान गुमाएका छन्। उनीहरू आईसीयूको प्रतिक्षासूचीमा थिए। आईसीयू खाली नभएपछि उनीहरूले त्यही ज्यान गुमाएका हुन्।

यस्तै भैरहवाको भीम अस्पतालमा पनि अक्सिजन आपूर्ति रोकिएपछि तीन जनाको मृत्यु भएको छ। उक्त अस्पतालमा १५ मिनेट अक्सिजन रोकिएको थियो। उक्त अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले अक्सिजन रोकिएको केही समयमै तीन जना बिरामीको मृत्यु भएको बताइन्। गाडीबाट ल्याइँदै गरेको अक्सिजन आउन ढिलाइ भएपछि बिरामीले ज्यान गुमाएका हुन्।  आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री