शुक्रबार, ७ वैशाख २०८१

रुकुम घटनाको पोस्टमार्टम रिपोर्ट : शरीरभरि चोट, पेटमा पानी छैन

समयपोष्ट २०७७ जेठ १७ गते ८:५४

Advertisement

रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन् ।मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले कान्तिपुरलाई बताए । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’

उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ ।

समितिले काम थाल्यो

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले शुक्रबारदेखि काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेतको टोलीले शुक्रबार मृतक सन्दीप विकको शवसमेत अवलोकन गरेको थियो । यसका साथै समितिले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोली घटनास्थलतिर गएर थप अनुसन्धान गर्ने बताए । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित छानबिन समिति गठन गरेको छ ।

दलित अधिकारकर्मीले जाजरकोट पुगेको समितिलाई निष्पक्ष छानबिनको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । यसअघि कर्णाली प्रदेशसभाका सदस्यहरु रातो कामी, झुपा विक, सीता नेपालीलगायतले जाजरकोट पुगेर घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेका थिए । समितिका संयोजक बस्नेतले सरकारले दिएको म्यान्डेटअनुसार निष्पक्ष छानबिन गर्ने बताए । ‘घटना तोडमोड हुँदैन, तपाईंहरु ढुक्क हुनुहोस्,’ उनले भने, ‘सत्यतथ्य बाहिर आउँछ ।’

पीडित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको बताएका छन् ।

‘घटनामा वडाध्यक्ष डम्बर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सब भएको छ,’ नवराजका बुवा मुनलालले भने, ‘तर, अहिले नेताहरुले अपराधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ कुटेर मारेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरुले आफैं भेरीमा हामफाले भन्दै अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास भएको उनले बताए ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयले जाजरकोटतर्फबाट आएका युवामाथि आक्रमण गरेका थिए । सोतीकै १७ वर्षीया मल्ल थरकी किशोरीसित प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागि भगाउन भनेर आएका युवाहरुको समूहलाई गाउँलेले लखेटेर हत्या गरेको पीडित पक्षको भनाइ छ।आजको कान्तिपर दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री