शुक्रबार, १६ चैत २०८०

भेरीमा बगेका सपनाहरु

समयपोष्ट २०७७ जेठ १७ गते ८:००

Advertisement

भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो ।

मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा गर्दै लखेटे । नवराजसहित ५ जनाले ज्यान गुमाए, १ जना बेपत्ता भए । १२ जना मुस्किलले बाँचे । घटनापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । जाहेरीमा किटान गरिएका २ जना फरार छन् ।

प्रहरी बन्ने सपना

२० वर्षीय नवराज मुनिलाल र उर्मिलाका एक्लो छोरा हुन् । उनी नेपाल प्रहरीको जवानका लागि लिखितमा नाम निकालेर मौखिक परीक्षाको तयारीमा थिए । लकडाउनका कारण परीक्षा स्थगित भएपछि उनी घरमै बसिरहेका थिए ।

त्रिभुवन मावि, खलंगाबाट १२ कक्षासम्म पढेका उनी प्रहरीमा जागिर खाएर आमाबुबालाई खुसी बनाउन चाहन्थे । उनी जागिरसँगै बिहे गरेर दुलही भित्र्याउने योजनामा थिए । ‘जागिर खान्छु, बुहारी पनि ल्याउँछु भन्थ्यो,’ आमा उर्मिलाले भनिन्, ‘पापीहरूले मेरो छोरालाई मारेर भेरीमा बगाइदिए, कस्तो सपना देखेको थियो, लास बनेर घर आयो ।’

मुनिलाल र उर्मिला दैनिक मजदुरी गर्छन् । उनीहरूले मजदुरी गरेरै छोरालाई पढाएका थिए । छोरो बाठोटाठो भएकैले कथित माथिल्लो जातकी छोरीलाई ताकेको हुन सक्ने बुबा मुनिलालले बताए ।

विदेश जाने तयारीमा थिए गणेश

त्रिभुवन मावि खलंगाबाट २०७४ मा एसईई उत्तीर्ण गरेका गणेश बुढा निम्न वर्गीय परिवारमा जन्मेका हुन् । कुशे गाउँपालिका–२, टालेगाउँमा जन्मिए पनि उनी डेढ दशकदेखि आमाबुबासँग रानागाउँमा डेरामा बस्थे । बुबा पदमबहादुर र आमा राधिका सदरमुकाममा मजदुरी गर्छन् ।

१९ वर्षीय गणेशले वैदेशिक रोजगारीमा गएर परिवारको आर्थिक अवस्था माथि उकास्ने सपना देखेका थिए । ‘विदेश गएर पैसा कमाउँछु, तपाईंहरूलाई सुख दिन्छु भन्थ्यो,’ राधिकाले भनिन्, ‘लकडाउनले विदेश जान ढिलो भएको थियो ।’ नवराज मिल्ने साथी भएकाले गणेश त्यस दिन सोती गएको उनले बताइन् ।

बिहे गर्ने तयारीमा थिए सन्दीप

२३ वर्षीय सन्दीप विक (सन्जु) नवराजका साथीमात्र होइनन्, नाताले दाइ हुन् । उनी बुबा बलबहादुर र आमा सविताका जेठो छोरा हुन् । उनीपछि एक भाइ र दुई बहिनी छन् । प्राथमिक तहसम्म मात्र अध्ययन गरेका उनी घरको काममा आमाबुबालाई सघाउँथे । सविताका अनुसार सन्दीप निकै सोझो र मिजासिलो थिए ।

आजको कान्तिपुरमा प्रकाशियो यो समाचार भीमबहादुर सिंहले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री