शुक्रबार, ७ वैशाख २०८१

व्यवसायी भन्छन् : पर्यटनमा अपेक्षाभन्दा राम्रो बजेट कार्यान्वयन होस्

समयपोष्ट २०७७ जेठ १६ गते १९:२२

Advertisement

सिबी अधिकारी
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको व्यवसायीले प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले बिहिबार सङ्घीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्नुभएको बजेटले पर्यटन क्षेत्रमा अपेक्षा गरिएका भन्दा पनि राम्रा कार्यक्रम समेटिएकाले समग्रमा बजेट सकारात्मक रहेको भन्दै व्यवसायीले प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

बजेटमा सम्बोधन भएका पर्यटन क्षेत्रका विषयलाई अब कार्यविधि बनाएर कार्यान्वयन गर्दै पर्यटन क्षेत्रलाई गतिशील बनाउनुपर्नेमा समेत व्यवसायी एकमत देखिएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बजेटले समग्रमा पर्यटन क्षेत्रलाई सकारात्मक सम्बोधन गरेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुभयो । “बजेटमा पर्यटनका विषय हामीले अपेक्षा गरिएका भन्दा पनि राम्रा आएका छन्, अब यसलाई कार्यविधि बनाएर प्रभावकारी कार्यान्वयनमा लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

पर्यटन पूर्वाधार विकास, पर्यटन क्षेत्रमा आबद्ध मजदूरको वैकल्पिक रोजगारी, तालीम र राहतका साथै कर्जाको सुविधा तथा ब्याजदर, कर छुट, नवीन सूचना प्रणाली लागू गर्ने कुरा पर्यटन क्षेत्रका लागि सकारात्मक विषय हुन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईले बजेटमा पर्यटनका धेरैजसो विषय सम्बोधन गरिएको भन्दै व्यवस्थित कार्यविधि बनाएर कार्यान्वयन पक्षलाई बलियो बनाइनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समग्रमा बजेट पर्यटन क्षेत्रका लागि राम्रो छ, हामीले दुई प्रतिशतमा सहुलियत ऋण माग गरेका थियौँ, पाँच प्रतिशतमा ऋण दिने बजेटमा उल्लेख छ, यो पनि सहजै कार्यान्वयन भए राम्रो हुन्छ, व्यवसायीलाई अनुकूल हुने गरी कसरी कार्यान्वयन हुन्छ हामी त्यसको पर्खाइमा छौँ ।” नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले सरकारले बजेटमार्फत पर्यटन क्षेत्रका विषयलाई सम्बोधन गरेकाले आम पर्यटन व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो । बजेटमा उल्लेख भएका पर्यटन क्षेत्रका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा पनि उहाँको जोड छ ।

सरकारले बजेटमा कोभिड–१९ का कारण पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै पर्यटन व्यवसायीलाई पाँच प्रतिशत सहुलियत ब्याजमा ऋण प्रदान गर्ने घोषणा गरिएको छ । त्यस्तै पर्यटन क्षेत्रका कर्मचारीलाई पारिश्रमिक दिन तथा व्यवसाय सञ्चालन गराउनका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्न रु ५० अर्बको कोष स्थापना गर्ने तथा हवाई सेवा, होटल, ट्राभल, ट्रेकिङ, रेष्टुराँ, पर्वतारोहण क्षेत्रको पुनःउत्थान गर्न कर छुटको पनि सुविधा दिने बजेटमा घोषणा गरिएको छ ।

होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बजेटमा पर्यटनका धेरै कुरा समेटिनु सकारात्मक भए पनि अहिलेको परिस्थितिमा तत्कालीन कार्यक्रमलाई विशेष जोड दिएको भए अझ प्रभावकारी हुने प्रतिक्रिया जनाउनुभयो । व्यवसायीले विशेष गरी हवाई पूर्वाधार क्षेत्रमा विनियोजन गरिएको बजेटले सकारात्मक सञ्चार प्रवाह गरेको बताएका छन् । हवाई पूर्वाधार विकासका लागि सरकारले रु १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि रु एक अर्ब २६ करोड विनियोजन गरेको छ । कोभिडबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनःरुत्थानका लागि कर र ब्याजमा सुविधा उपलब्ध गराइने बजेटमा भनिएको छ । कोभिड–१९ को प्रभावमा परेका व्यवसायीलाई पाँच प्रतिशतसम्म सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यसका लागि रु एक खर्बको पुनर्कर्जाकोष स्थापना गरिने जनाइएको छ ।

वायुसेवा कम्पनीलाई पार्किङ, ह्यांगरलगायतमा छुट दिने बजेटमा व्यवस्था गरिएको छ । कोभिड–१९ पछि आन्तरिक पर्यटनलाई चलायमान बनाउन राष्ट्रसेवक कर्मचारी तथा अन्य क्षेत्रका कर्मचारीलाई देश दर्शनका लागि प्रोत्साहित गरिने कार्यक्रम समेटिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री