शुक्रबार, ७ वैशाख २०८१

कोरोनाबाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु, संक्रमित संख्या ९ सय नाघ्यो

समयपोष्ट २०७७ जेठ १५ गते २:३०

Advertisement

कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ बुङमतीका एक पुरुषको किष्ट अस्पतालमा मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो।

अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको हो। मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको निर्देशकले जानकारी दिए ।

उनका अनुसार ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो। मृतकको शव अस्पतालमै छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।

एकैदिन १२९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ सय नाघ्यो

नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ६ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो । बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।

अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री