मंगलबार, ४ वैशाख २०८१

कोरोनाबिरुद्धको भ्याक्सिन बेलायतमा बन्दै, अमेरिकाको १ दशमलव २ बिलियन डलर लगानी

समयपोष्ट २०७७ जेठ १० गते ७:५६

Advertisement

बेलायतमा बन्दै गरेको कोरोनाबिरुद्धको भ्याक्सिनको ३ सय मिलियन डोज अमेरिकाले लिने भएको छ । ईग्ल्याण्डमा रहेको आष्ट्राजेनेका कम्पनीले उत्पादन गर्ने पहिलो १ बिलियनमध्ये झण्डै एकतिहाई उत्पादन अमेरिकाले लिने भएको छ । यो भ्याक्सिन अझै पनि परीक्षणकै क्रममा रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिनको माग गरेपछि युएस डिपार्टमेन्ट अफ हेल्थले तीब्र गतिमा भ्याक्सिन उत्पादनका लागि आष्ट्राजेनेका कम्पनीलाई १ दशमलव २ बिलियन डलर दिने सहमति जनाएको छ । यो कम्पनीले सन् २०२१ मा भ्याक्सिन सर्वत्र उपलब्ध गराउनेगरी काम गरिरहेको जनाइएको छ ।

एजीडी १२२२ नामबाट चिनिने यो भ्याक्सिन युनिभर्सिटी अफ अक्सफोर्डले विकाश गरेको हो भने यसको लाइसेन्स बेलायती औषधी कम्पनी आष्ट्राजेनेकासँग रहेको छ । कम्पनीसँगको भ्याक्सिनको तेश्रो चरणको परीक्षण अमेरिकामा ३० हजार जनामा गर्न दिनका लागि अमेरिकाले सहमति जनाएको छ ।

यो कम्पनी क्याम्ब्रिजमा रहेको छ भने यो अहिलेसम्म ४ सय मिलियन डोजका लागि भ्याक्सिन बुक भइसकेको कम्पनीले जनाएको छ । भ्याक्सिनको पहिलो डेलिभरी आगामी सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ ।

यो भ्याक्सिनको एकसय मिलियन डोज बेलायतमा प्रदान गर्ने सहमति भइसकेको छ । जसमध्ये ३० मिलियन डोज सेप्टेम्बरमा प्रदान गरिने अपेक्षा गरिएको छ । बेलायती मन्त्रीहरुले यो भ्याक्सिनमा पहिलो पहुच बेलायतमा हुने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकी सरकारले भ्याक्सिन उत्पादन गर्दै गरेका अन्य कम्पनीहरु जोन्सन एण्ड जोन्सन, मोडेर्ना र सानोफीसँग पनि सहमति कायम गरिसकेको छ । यसलाई कतिपयले धनी देशहरुलेमात्र सबैभन्दा पहिले आफ्ना नागरिकको संरक्षण गर्न पाउने भन्दै डर समेत व्यक्त गरेका छन् ।

भ्याक्सिन उत्पादन कम्पनी सानोफीका प्रमुखले अमेरिकामा उत्पादन भइरहेको भ्याक्सिनको पहिलो डोज अमेरिकी बिरामीहरुलाई नै दिइने बताउँदा फ्रान्सको सरकार रिसाएको थियो । अमेरिकाले शोधका लागि आर्थिक रुपमा सघाएकाले भ्याक्सिनको पहिलो डोज अमेरिकालाई नै दिने उनले बताएका थिए ।

आष्ट्राजेनेकाले बनाइरहेको एजीडी १२२२ भ्याक्सिनको पहिलो चरणको दोश्रो क्लिनिकल परीक्षण गतमहिना १८ देखि ५५ बर्षसम्मका एकहजारबढी स्वयंसेवकहरुमा गरिएको थियो । यो परीक्षणको तथ्यांक छिट्टै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

अहिलेसम्म विश्वमा कोरोनाभाइरसबिरुद्धको भ्याक्सिन वा औषधी उपलब्ध छैन । सरकार, औषधीनिर्माता र शोधकर्ताहरुले एकसयभन्दा बढी कार्यक्रममा काम गरिरहेका छन् । भ्याक्सिन तयार हुने १२ महिनादेखि १८ महिनासम्म लाग्नसक्ने बताइदै आएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री