शनिबार, ८ वैशाख २०८१

पाँच वर्षमा ४०२ सम्पदा पुनः निर्माण

समयपोष्ट २०७७ वैशाख २३ गते १५:०९

Advertisement

पाँच वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका ४०२ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षमा भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये आधा पनि पुनःनिर्माण सम्पन्न हुनसकेको छैन । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सार्वजनिक गरेको छ । हाल १४१ सम्पदा पुनःनिर्माणको क्रममा रहेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले राससलाई जानकारी दिनुनभयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत १७० सम्पदामा क्षति पुगेको थियो । उपत्यकामा क्षतिग्रस्त बनेकामध्ये १०१ अर्थात् ५९ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । बाँकी ५४ अर्थात् ३२ प्रतिशत पुनःनिर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । भूकम्पले क्षति पुगेका सम्पदा पुनःनिर्माण पुरातत्व विभागले गरिरहेको छ । बजेट व्यवस्थापन र समन्वयको काममात्र प्राधिकरणले गरेको हो । धरहरा र रानीपोखरी भने प्राधिकरणले पुनःनिर्माण गरिरहेको छ । यसैगरी पशुपति क्षेत्रका सम्पदा भने पशुपति क्षेत्र विकास कोषले नै गरिरहेको पुरातत्व अधिकृत बाँस्कोटाले बताउनुभयो ।

पशुपति क्षेत्रमा डेढ महिनादेखि पुनःनिर्माणका काम हुन नसकेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । कोषले पाँच वर्षमा ५५ प्रतिशत पुनःनिर्माण सम्पन्न गरेको जनाएको छ । बन्दाबन्दी नसकिएसम्म काम शुरु गर्न नसकिने पनि उहाँले बताउनुभयो । स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार उपत्यकाका केही नगरपालिकाले पनि सम्पदा पुनःनिर्माण गरिरहेका छन् । स्थानीय तहले सम्पदा पुनःनिर्माण गर्दा विभागको समन्वयमा गर्ने गरेका छन् । काष्ठमण्डप काठमाडौँ महानगरपालिकाको संयोजनमा पुनःनिर्माण समितिले बनाइरहेको छ । यसैगरी रातोमच्छिन्द्रनाथ पुनःनिर्माण ललितपुर महानगरपालिकाले गर्ने निर्णय प्राधिकरणलगायत सरोकार भएका निकायको बैठकले गरेको छ ।

पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण गर्दा पुरातात्विक विषय भने विभागले नै हेर्ने गरेको छ । काष्ठमण्डप, रानीपोखरी, धरहरा, रातो मच्छेन्द्रनाथ, पशुपति क्षेत्रका जयवागेश्वरी, विश्वरुप मन्दिरलगायत संरचना पुनःनिर्माणमा ढिलाइ भएको भन्दै सम्पदा प्रेमीले दबाब दिँदै आएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले पनि सम्पदा पुनःनिर्माणमा प्रभाव परेको छ । डेढ महिनादेखि धेरै सम्पदा पुनःनिर्माणको काम ठप्प छ । भूकम्पलगत्तै नाकाबन्दीका कारण पनि सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको थियो । परम्परागत निर्माण सामग्री, काठ, कालिगढलगायत पाउन कठिन हुँदासमेत सम्पदा पुनःनिर्माणमा ढिलाइ हुने गरेको छ । सम्पदा भत्किनुअघिकै अवस्थामा पुनःनिर्माण गर्नुपर्ने भएकाले पनि काममा ढिलाइ हुने गरेको प्राधिकरणले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री