शुक्रबार, १६ चैत २०८०

स्थानीय तहले विकास निर्माणको कामलाई दिन थाले निरन्तरता, १ अर्ब हाराहारीको काम गर्दै

समयपोष्ट २०७७ वैशाख २३ गते १३:००

Advertisement

नारायण अधिकारी

हरेक वर्षको विकास निर्माणका काम गर्ने मुख्य समयमा लकडाउन शुरु भएपछि रोकिएका कामलाई यहाँका स्थानीय तहले निरन्तरता दिन थालेका छन् । उच्च सावधानी अपनाउँदै पालिकाहरुले सहजीकरण गरेर काम शुरु गरेका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार महानगरपालिकाले आवश्यक सहजीकरण गरेर विकास निर्माणको काम अगाडि बढाएको छ । महानगरपालिकामा सडक कालोपत्र, ग्राभेल, ढल निर्माण, वडा कार्यालय भवन निर्माणजस्ता काम शुरु भएका छन् । जोशीका अनुसार रु एक अर्ब हाराहारीको विकासका काम यस वर्ष महानगरले गर्दै छ । आधा जति काम सकिएको भए पनि बाँकी काम सकेसम्म सक्नका लागि सहजीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

महानगरमा धेरै काम सडक कालोपत्रे छन् । महानगरभित्रै चार अस्फाल्ट (तयारी अलकत्रा) बनाउने उद्योग रहेका छन् । तिनै उद्योग सञ्चालन गरी काम अगाडि बढाइएको छ । महानगरले शहरी विकास, सडक विभाग, सिँचाइ विभागअन्तर्गतका आयोजनाका कामका लागि पनि सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । महानगरपालिकाका नौ वटा वडा कार्यालय भवन निर्माण एवं मर्मतसम्भार भइरहेका छन् । ती काम पनि अगाडि बढाइएको छ । निर्माण कम्पनीलाई आवश्यक कच्चा पदार्थ व्यवस्थापनमा सहयोगसँगै सवारी र मजदुर हिँड्डुलका लागि इजाजतको व्यवस्था महानगरले गरेको छ ।

राप्ती नगरपालिकामा पनि काम थालिएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार अत्यावश्यक र अधुरा आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ । सो क्षेत्रमा तटबन्धन, कुलो, सडक कालोपत्र, ढल, सडक ग्राभेलजस्ता विकासका आयोजना रहेका छन् । बरालका अनुसार चालू आर्थिक वर्षमा रु ४७ करोडको विकास बजेट विनियोजन गरिएको छ । सोमध्ये ८० प्रतिशत हाराहारीको सम्झौता भई आधा काम सम्पन्न भइसकेको छ । बाँकी सम्झौता गर्ने र कामलाई तीव्रता दिन नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

इच्छाकामना गाउँपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमणसँग जोगिँदै काम थालेको छ । गाउँपालिकाका अध्यक्ष गीता गुरुङले पुल, खानेपानी, सडकजस्ता पूर्वाधारका काम अगाडि बढाउन थालिएको बताउनुभयो । विद्युतीकरणको काम भने शुरु हुनसकेको छैन । सामाजिक दूरी कायम गरी स्थानीय मजदुरलाई रोजगारी हुने गरी काम अगाडि बढाइएको छ । सोही गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले विकासका कार्यक्रम अगाडि बढाउँदा राहत दिनुपर्नेको सङ्ख्या घट्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका–११ मा आइतबारबाट सडक कालोपत्रको काम नै थालिएको छ । वडाध्यक्ष बाबुराम अधिकारीले निर्माण कम्पनीलाई सहयोग गर्न सकेमा विकासका कामसँगै स्थानीयवासीले रोजगारी पाउने बताउनुभयो । सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अवलम्बन गर्दै काम थालिएको अधिकारीको भनाइ छ ।

जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । सबै पालिकाले विकासका काम अगाडि बढाउने तयारी गरिहेका छन् । यससँगै नारायणी, राप्तीजस्ता नदीमा तटबन्धनका काम, मानिसको कम चाप हुँदा गर्नैपर्ने सडकका काम, पुलका कामलाई प्राथमिकतामा राखेर निर्माण कम्पनीलाई काम लगाइएको छ ।

विषालु च्याउ खाँदा एकै परिवारका पाँच बिरामी

वनबाट ल्याएको विषालु च्याउ खाँदा देवघाट गाउँपालिकाका एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिरामी हुनेमा देवघाट गाउँपालिका–५ का ४२ वर्षीय कृष्णबहादुर भुजेल, उहाँको श्रीमती ४० वर्षीया गौरीमाया, छोरा २१ वर्षीय तीर्थबहादुर, १७ वर्षीय मीनबहादुर र १५ वर्षीय धनलाल रहनुभएको छ ।

उहाँहरु सोमबार बिहान घर नजिकैको वनबाट ल्याएको च्याउ खाँदा बिरामी पर्नुभएको थियो । बिरामी परेपछि उहाँहरुलाई सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । बिरामीहरुमध्ये कृष्णबहादुर र धनलाल गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर बिरामीको पुरानो मेडिकल कलेजमा सघन उपचारकक्षमा उपचार भइरहेको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसअघि शनिबार र आइतबार जिल्लामा १२ जना विषालु च्याउ खाँदा बिरामी परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री