शुक्रबार, ७ वैशाख २०८१

‘कोभिड–१९ विशेष बीमा कार्यक्रम’ प्रति बढ्दो आकर्षण

समयपोष्ट २०७७ वैशाख १९ गते १६:३४

Advertisement

मानदत्त रावल

‘कोभिड–१९ विशेष बीमा कार्यक्रम’ सञ्चालनमा आएपछि जुम्लावासी उत्साहित भएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यहाँका स्यानीय सङ्घसंस्था, सहकारी, व्यापारी र नागरिक कोरोना विशेष बीमा गर्न उत्साहित भएका हुन् ।

जुम्लाको सबैभन्दा पहिलो बहुउद्देश्यीस सहकारी संस्था चन्दननाथ सहकारीले आफ्ना ६५ कर्मचारीको रु ५०÷५० हजारको कोरोना विशेष बीमा गरेको छ । त्यसैगरी कैलाश जनरल स्टोरले २० कामदार मजदुरको बीमा गरेको कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हप्ता दिनमा जुम्लाका १५० जनाको कोरोना बीमा गर्न सफल भएका छौँ ।”

त्यसैगरी जिल्ला बचत सङ्घका व्यवस्थापक मीनबहादुर रोकायाले आफ्ना छ जना घरपरिवारको रु ५०÷५० हजारको कोभिड बीमा गरेका छन् । चन्दननाथ नगरपालिका–४ का रत्नबहादुर हमालले छ घरपरिवार र वसन्त उपाध्यायले आफ्नो पाँच जना घरपरिवारको रु ५०÷५० हजारको कोभिड–१९ विशेष बीमा गरेको शिखर इन्स्योरेन्स कम्पनी जुम्लाले जनाएको छ । एनआइसी एशिया मुगु शाखाका प्रबन्धक रामु शाहीले पनि आफ्नो छ जना घरपरिवारको कोरोना बीमा गरिएको जनाएको छ ।

जुम्लाका क्रियाशील पत्रकाहरुको पनि निःशुल्क रु ५०/५० हजारको कोरोना विशेष बीमा गर्ने तयारी गरेको प्रबन्धक पाण्डेले बताउनुभयो । उहाँले यसका लागि नेपाल पत्रकार महासङ्घ जुम्ला शाखासँग समन्वय भइरहेको छ । बीमा अवधिभित्र कोभिड–१९ को पिसीआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

व्यक्तिले आफ्नो र परिवारका सदस्यको बीमा गर्न सक्नेछन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क तिर्नुपर्ने छ । उहाँले भन्नुभयो, “बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ वर्ष हुनुपर्ने प्रावधान छ ।” यसमा कुनै सङ्घसंस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

एक लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले एक हजार र प्रतिसदस्य थपिँदै गएपछि प्रतिसदस्य रु ६०० लाग्नेछ । ५० हजारको बीमा गरेमा रु ५०० बीमाङ्क शुल्क लाग्नेछ भने अरु सदस्य (घरपरिवार) थपिएपछि प्रतिव्यक्ति रु ३०० थप रकम लाग्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

संस्थागत रुपमा समूहगत कर्मचारीको बीमा गरेमा पनि एक लाख रकम बीमाको एकजना कर्मचारीको एक हजार बीमा शुल्क तिर्नुपर्ने छ भने अन्य कर्मचारी थपिँदै गएपछि प्रतिकर्मचारी रु ६०० बीमा शुल्क लाग्ने प्रावधान छ । रु ५० हजारको बीमा गरेमा एक कर्मचारीको पाँच सय र कर्मचारी थप भएपछि प्रतिव्यक्ति रु ३०० का दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ । एउटा घरपरिवार वा सङ्घसंस्थाले छ जनाभन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ ।

यो बीमा गर्ने व्यक्ति तथा सङ्घसंस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फाराम भरेर बीमा कम्पनीलाई बुझाउनुपर्नेछ । भरेका फाराम बीमा कम्पनीको कार्यालयमा बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउने व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाका लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री