शुक्रबार, १६ चैत २०८०

आयआर्जन गर्न अपाङ्गतालाई बाख्रा सहयोग

समयपोष्ट २०७६ वैशाख १५ गते १२:०५


आयआर्जनका निम्ति उपहारस्वरुप बाख्रा पाएपछि अपाङ्गतामा खुशीयाली छाएको छ । रामपुर नगरपालिका–२ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर बाख्रा वितरण गरेपछि उनीहरुमा खुशी र उमङ्ग छाएको हो ।

Advertisement

अपाङ्गता भएका व्यक्ति भनेपछि घरपरिवार, छरछिमेक, आफन्त, साथीभाइले हेयको दृष्टिकोण राख्ने गर्छन् । आयआर्जन गर्न उनीहरुलाई अन्यत्र जान सहज छैन । गाउँघरमै बसी बाख्रापालन व्यवसाय गरेर आम्दानी गर्न उत्प्रेरित गराउन वडा कार्यालयले बाख्राको पाठी प्रदान गरेको हो ।

वडामा बसोबास गर्दै आएका ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता परिचयपत्र पाएका आठ व्यक्तिलाई आयआर्जन गर्न एक÷एक बाख्राको पाठी प्रदान गरिएको वडाध्यक्ष ताराबहादुर थापा बताउछन् । “वडामा रहेका आठ व्यक्तिलाई कार्यालयको रु ४० हजारको बजेटमा बाख्राको पाठी सहयोग गरेका छौँ, उनीहरुले घरमा बसीबसी बाख्रा पालेर आयस्रोत बढाउनेछन् भनेर यो कार्यक्रम ल्याएका हौँ”, उनले भने ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता परिचयपत्र पाएका नागरिकले नेपाल सरकारले प्रदान गर्दै आएको सेवासुबिधा उपयोग गरिरहेकाले ‘ग’ र ‘घ’ वर्गका व्यक्तिलाई मात्र बाख्राको पाठी वितरण गरिएको वडा अपाङ्गता समन्वय समितिका संयोजक रामबहादुर अधिकारीले बताए ।

“राम्रोसँग पालनपोषण गरियो भने धेरै बाख्रा पाल्नु पर्दैन, एक बाख्राबाट पनि राम्रै आम्दानी लिन सकिन्छ”, उनले भने । यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिमा हौसला प्रदान गरेको रीतु थापा बताउछन् । उनले एक बाख्रा पालेर राम्रो आम्दानी गर्ने सपना बोकेका छन् ।

त्यस्तै दिलबहादुर थापा पनि बाख्रा पाएपछि खुशीयालीसँगै आयआर्जन गर्ने बाटो खुलेको बताउछन् । अपाङ्गता भनेर हेला गर्नेका लागि राम्रो कमाइ गरेर नमूना व्यक्ति बन्ने सपना छ, बाख्रापालन व्यवसायबाट ।

वडाले अघिल्लो वर्ष अपाङ्गतालाई लक्षित गरेर कुखरा वितरण कार्यक्रम, विभिन्न तालीम आयोजना गरेको थियो । वडा कार्यालयबाट व्यवसायका लागि प्रोत्साहन स्वरुप प्रदान गरिएको कुखुराले अहिले आयआर्जन राम्रो दिएको थर्कबहादुर कुमालले बताए । उनले वडा कार्यालबाट पाएको दश कुखरामा आफूले केही स्थानीय जातका कुखुरा थपेर व्यावसायिकरूपमा नै गर्दै आएको बताए । गत वर्ष यहाँका २० जनालाई वितरण गरेको कुखुराले राम्रो आम्दानी दिएको छ ।

रामपुरमा कभर्डहल निर्माण हुँदै

पाल्पाको रामपुर नगरपालिकामा कभर्डहल निर्माण हुँदैछ । केन्द्र सरकारको जिल्ला खेलकूद विकास समितिबाट रु २५ लाख बजेटमा कभर्ड हल निर्माणकार्य अगाडि बढाइएको छ ।

गत वर्ष निर्माण शुरु भएको आयोजनाको डिपिआर तयार गर्न रु नौ लाख ६७ हजार र निर्माण अनुदान रु १४ लाख ३३ हजार ७४०, जनश्रमदान रु तीन लाख ७२ हजार गरी रु २८ लाख ८१ हजारको लागतमा कभर्ड हलको भुइँ बेसको काम भएको कर्भडहल निर्माण समितिका उपाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

कभर्ड हल निर्माण आयोजनाको रु एक करोड ५० लाख लागत अनुमानमा निर्माणकार्य शुरु भएको छ । १८ मिटर चौडाइ, ३० मिटर लम्बाइ भएको कभर्डहल निर्माण सम्पन्न भएपछि फुटबल र क्रिकेटबाहेक अन्य साना खेलभित्र खेलिने कभर्डहल निर्माण समितिका अध्यक्ष कमल सेनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री