शुक्रबार, १६ चैत २०८०

राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ : अध्यक्ष दाहाल

समयपोष्ट २०७६ वैशाख ६ गते १८:०६

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताएका छन् । प्रदेश नं. ३ सरकारले आज यहाँ आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताए ।

उनले भने, “सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै दाहालले अब यसलाई कार्यान्वयन गर्नका निम्ति हामीले विशेष ध्यान दिनुपर्ने बताए ।

सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए । उनले भने, “कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देश विकासले गति लिनै सक्दैन ।”

सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढङ्गले हेर्ने परिपाटीले विगतमा देश विकास हुन नसकेको बताउँदै उनले भने, “राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ ।” निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवा सपना मात्रै भएको दाहालको भनाइ थियो ।

लामो समयदेखिको केन्द्रीकृत शासन प्रणाली अन्त्य भएर तीन तहको सरकार बनेको भन्दै उनले भने, “नयाँ युगको सूत्रपात भएको छ, यसलाई सफल बनाउनु पर्छ ।” २००७, २०१७ र २०४६ सालको जस्तो परिवर्तन अहिलेको नभएको भन्दै उनले भने “यो सामान्य मात्रात्मक होइन, गुणात्मक परिवर्तन हो ।” गुणात्मक परिवर्तनलाई आत्मसात् गर्न सकेनौँ भने यसलाई उपयोगीरुपमा राष्ट्रको पक्षमा, जनताको पक्षमा प्रभावकारी कार्यान्वयन गर्नै नसकिने उनले बताए । राजनीतिक परिवर्तनसँगै सोचमा पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताए । उनले भने, “राम्रा र सुन्दर योजना त आउँलान् तर ती कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने महत्वपूर्ण विषय हो ।” सङ्घीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनु पर्ने बताउँदै उहाँले लगानीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए ।

विकास निर्माणलाई राजनीतिक विवादमा ल्याउन नहुने बताउँदै उहाँले भन्नुभयो, “अब भाषण होइन, काम गरेर देखाउने समय आएको छ ।”सांसद विनोद चौधरी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेललगायतका सहभागी व्यवसायी र नीति निर्माताले सो कार्यक्रममा बोल्नुभएको थियो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सो प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले यो प्रदेशमा लगानी गर्नुपर्ने क्षेत्रको बारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रमअन्तर्गत शनिबार पनि निजी क्षेत्रसँग बृहत् अन्तक्र्रिया गरिँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री